इलामः फाकफोकथुम गाउँपालिकाको गाउँसभामा कर्मचारी सम्मानसहित आर्थिक वर्ष ०७९/०८० का लागि ५१ करोड १४ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक भएको छ ।
पालिकाले यस वर्ष पूर्वाधार विकाशलाई पहिलो प्रथामिकतामा राखेको छ । पूर्वाधार शिर्षकमा छुट्याइएको बजेटबाट पूर्वाधारका संरचना निर्माण सम्पन्न भएपछि पालिकामा समृद्धिको ढोका खुल्ने अपेक्षाले विभिन्न क्षेत्रको संरचना निर्माण कार्यको थालनी गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
भौगोलिक विकटताका कारण हरेक कुराले पछिपर्ने स्थानीयतह मध्ये यसपालिकाको अवस्था पनि संरचनाका हिसाबले नाजुक बनेका कारण यस बजेटबाट खोलानालामा ह्युम पाईप लगाउने,पालिका र वडा कार्यालयको सेवा केन्द्रमा नागरिकहरु पुग्ने कम्तिमा एउटा सडक बाह्रै महिना चल्न सक्ने बनाउने तथा स्तरोन्नती,ग्राभेल,सोलिङ गरी सडक संजाललाई सुधार गर्ने भएको छ । खेल मैदानको निर्माण,विधुत विस्तार,पालिकाको सेवा केन्द्र परिसरको बजार क्षेत्रलाई कालोपत्रको लागि प्रकृया अघि बढाउने,पालिकाको प्रशासनिक भवनको माथि ट्रस लगाउने लगायतका काम सम्पन्न गरिने भएको छ ।
शुक्रबार पालिका अध्यक्ष दिपेन्द्र खनालले स्थानीयतहको दोस्रो निर्वाचनपछिको पहिलो गाउँसभा तथा पालिकाको ११ औं अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वाधार विकाशपछि सामाजिक विकाशलाई दोस्रो प्राथमिकतामा र आर्थिक विकाश,वनवातावरण तथा विपद व्यवस्थापन,सुशासन तथा संस्थागत सुधार लगायतलाई क्रमशःप्रथामिकतामा राखिएको वार्षिक कार्ययोजना सभाबाट पारित भएको छ ।
आपतकालीन अवस्थामा नागरिकलाई यातायत सेवा प्रदान गर्ने उदेश्य अनुरुप एम्बुलेन्स खरिद गरिने,प्रत्येक वडामा एक सामुदायिक भवन निर्माण हुने,विद्यालयको शैक्षिक सुधार तथा अन्य कामको लागि विज्ञ टोली गठन र आवश्यकताको आधारमा काम गरिने,पालिका स्तरीय १५ शैयाको अस्पताल निर्माणको काम शुरु गरिने,पालिकाका सडकको वर्गीकरण गरी संघ र प्रदेश सरकारको सहकार्यमा काम अगाडि बढाउने,कृषिमा आधुनिकीकरण गर्दै कृषक प्रोत्साहन तथा उत्पादन बृद्धिमा जोड दिइने,एक घर एक धारा अभियान संचालन गरिने,एक वडा एक खेल मैदान निर्माण र पालिकामा कभर्डहल निर्माणको कार्य अगाडि बढाइने भएको छ । जेष्ठ नागरिक मिलन केन्द्र बनाइने,सिसा र प्लाष्टिक जन्य फोहोर मैला व्यवस्थापनका लागि आवश्यक ठाउँमा डम्पिङसाइडको प्रबन्ध मिलाउन प्रारम्भिक अध्ययन शुरु गरिने लगायतका विषयलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।
पालिका उपाध्यक्ष कल्पना राईले प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा पूर्वाधार क्षेत्रमा ४ करोड ९७ लाख बजेट विनियोजन गरिएको छ । उनले सार्वजनिक गरेको बजेटमा संघीय सरकारबाट सशर्त अनुदान २५ करोड ८१ लाख,समानीकरण अनुदान १० करोड ७९ लाख,राजश्व बाँडफाँडबाट ८ करोड १७ लाख,समपुरक अनुदान,४० लाख मछ भने प्रदेश सरकारबाट सशर्त अनुदान ७ लाख ३२ हजार, समानीकरण अनुदान ५८ लाख १६ हजार,राजश्व बाँडफावड ४७ लाख ५५ हजार ९३० रुपैंया,समपुरक बजेट १ करोड,पालिकाको आन्तरिक राजस्व स्रोत अनुमान ७० लाख र बैंक मौज्दात ३ करोड ५० लाख रहेको छ । ७ वटा वडा रहेको यस पालिकाका सबै वडालाई ५० लाखका दरले छुट्याइएको जम्मा बजेट ३ करोड ५० लाख विनियोजन गरिएको उपाध्यक्ष राईले बजेट तथा कार्यक्रममा प्रस्तुत गरिन् ।
उनले आर्थिक वर्ष २०७८/०७९ मा यस पालिकामा भएको न्यायिक समितिको प्रगती विवरणसहितको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । न्यायिक समितिमा कर्ण लिम्बु र सिद्धमान आलेलाई समिति सदस्यमा चयन गर्ने भनि राखिएको प्रस्ताव सर्वसहमतिले सभामा पारित भएको छ ।
यसैबीच,११ औं गाउँसभाका अवसरमा पालिकाका विभिन्न क्षेत्रमा कार्यरत १३ जना कर्मचारीलाई उनीहरुले गरेको कार्य सुशलताको प्रशंसा गर्दै अध्यक्ष खनाल र उपाध्यक्ष राईले सम्मानपत्र र नगद पाँच हजार रुपैंयाहित सम्मान गरेका थिए ।
सम्मानित हुनेमा शिक्षकद्वय इन्दिरा कार्की र असोक कुमार चौहान साथै कार्यालय सहयोगीद्वय तिलबिक्रम थेगिम र हरि प्रसाद मुखिया रहेका छन् भने वडा सचिव लेकबहादुर नेम्बाङ,सूचना प्रविधि अधिकृत नारायण थापा मगर,एमआईएस अपरेटर तोयानाथ सारु मगर,असिस्टेन्ट सवइन्जिनियर लक्ष्मी प्रसाद शर्मा, ,पशु सेवा प्राविधिक पर्शुराम अधिकारी, लेखा सहायक तुलसी राम अधिकारी,बाल शिक्षक गंगामाया दियाली,महिला स्वास्थ्य स्वयंसेविका नन्दरानी लिम्बु र अनमी बविता सुब्बा रहेका छन् ।