चुलाचुली गाउँपालिका : ‘बुहारी शिक्षा’ र ‘डाक्टर पढ्नेलाई छात्रवृत्ति’

  राम योङहाङ  249 पटक हेरिएको

इलाम : इलामको चुलाचुली गाउँपालिकाले शिक्षालाई मूख्य प्राथमिकतामा राखेको छ । शुक्रबार चुलाचुली गाउँपालिका गाउँसभाको १० औं अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ ।

मानव संसाधन विकासको मुख्य आधार नै शिक्षा भएको भन्दै समग्र शिक्षा क्षेत्रको विकासमा जोड दिएको छ ।

गाउँपालिकाले पहिलोपटक ‘बुहारी शिक्षा’ कार्यक्रम ल्याएको छ । पालिकाभित्रका शिक्षाबाट वंचित बुहारीहरुलाई बुहारी शिक्षा कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आफ्नै पालिका र अन्यत्र गाउँपालिकाबाट विवाह गरी आएका बुहारीहरुले औपचारिक शिक्षा लिन चाहेमा सबै खर्चको व्यवस्थापन गाउँपालिकाले गर्ने नीति लिएको छ ।

त्यस्तै गाउँपालिकाभित्रका माध्यमिक तह उत्तीर्णमध्ये उत्कृष्ण १ छात्र र १ छात्रालाई एमबीबीएस, इन्जिनियरिङ, कृषि जेटीए, भेटेरीनरी, एच ए, स्टाफ नर्स, अहेव, ओभरसियर, ल्याब असिस्टेण्डलगायत प्राविधिक शिक्षा अध्ययनका लागि ‘अध्यक्ष छात्रवृत्ति कोष’ स्थापना गरी छात्रवृत्ति उपलब्ध गराईने नीति लिएको छ ।

चुलाचुली गाउँपालिकाले मातृभाषामा पठनपाठन गराउने सामुदायिक विद्यालयहरुलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदान कार्यक्रमको सुरुवात गर्ने नीति लिएको छ ।

त्यस्तै पूर्व प्राथमिक कक्षाहरु प्रविधियुक्त बनाउने, मातृभाषा तथा आवश्यकता अनुसार आधारभूत तहमा अंग्रेजी माध्यम शिक्षालाई प्राथमिकता दिने, खानेपानी, इन्टरनेट र कम्प्युटर शिक्षालाई अनिवार्य बनाउने भएको छ ।

त्यस्तै पठनपाठनमा निरन्तताका लागि ‘एक शिक्षकको विदाई र अर्को शिक्षकको स्वागत’ कार्यक्रमको संचालन गर्ने उल्लेख छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार