झलनाथ खनालको गृहजिल्ला इलाममा टुट्यो गठवन्धन

  नयाँ बुलन्द  2491 पटक हेरिएको

इलाम :  स्थानीय तहमा मुख्य साझेदार दलकोरुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले गठवन्धन तोड्दा झलनाथ खनालको गृहजिल्ला इलाममा एमालेका उम्मेद्धार जिल्ला समन्य समितिको प्रमुखमा चुनिएका छन् । स्थानीय तहको निर्वाचनमा पाँच दलिय गठवन्धन नेतृत्व लिएको नेपाली कांग्रेसवाट धोका भएको भन्दै नेकपा एसका सम्मानित नेता झलनाथ खनालले आरोप लगाएका थिए । त्यस लगतै जिसस गठन समिकरणमा नेकपा एमाले र एसले तालमेल गरे । तर अहिले नेकपा एसले धोका दिएको नेपाली काँग्रेसले आरोप लगाएको छ ।

यता नेकपा एस भने वडा तहदेखि गठवन्धन नहुदा समस्या आए पनि प्रतिगमन विरुद्धको गठवन्धन नतोडिएको दावी गरिरहेको छ । १० वटा पालिका रहेको इलाममा एमालेका प्रमुख र उपप्रमुखमा १० जना निर्वाचित छन् ।  यसअघि सूर्योदय नगरपालिकाको कार्यपालिका गठनमा पनि एमाले र एसबीच तालमेल भएको थियो । स्थानीय तहको निर्वाचनमा १० पालिका मध्ये २ नेकपा एस र १ माओवादीलाई प्रमुख दिएर कांग्रेस चुनावमा उत्रिएको थियो । यसमध्ये पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदयमा प्रमुख उनकै पार्टीकाले जितेका थिए भने माइजोगमाई गाउँपालिकामा एसका उम्मेद्वार पराजित रहेका थिए । त्यसपछि नेकपा एस र काँग्रेसबीच तिक्तता चुलिएको थियो ।

सरकार सञ्चालनमा मुख्य रुपमा रहेको नेकपा एसले स्थानीय तहमा काँग्रेसलाई उपयोग गरे पनि खनालको निर्देशनमा धोका दिने काम भएको इलाम काँग्रेस सभापति डम्वर खड्काको भनाई छ । ‘हामीले इमान्दारीपूर्वक मत हालेर उहाँहरुका उम्मेदवारलाई जिताए पनि अहिले खनाल र उनको पार्टीले गैर जिम्मेवार भूमिका प्रस्तुत गरेको छ ।’ यो विषयलाई केन्द्रमा समेत जानकारी दिइसकेको खड्काको भनाई छ ।

नेकपा एस भने स्थानीय तहको निर्वाचनमा वडातह देखि नै गठवन्धन नहुँदा यो समस्या देखिएको वताउछ । ‘प्रतिगमनको विरुद्धको गठवन्धन तोडिएको छैन,’ एसका जिल्ला अध्यक्ष भक्त केसीले भने, ‘जिल्लामा कार्यन्वयन गर्ने कुरामा सुरुदेखि नै समस्या रहयो ।’

जिल्ला समन्वय समितिको  निर्वाचनमा नेकपा एमाले र नेकपा एकिकृत समाजवादी (एस) काे गठबन्धन थियाे । निर्वाचनबाट गठबन्धनका प्यानलै विजयी भएका हुन् । प्रमुखमा नेकपा एमालेका जय प्रकाश राईसँगै उपप्रमुखमा एकीकृत समाजवादी पार्टीका चित्रकला बराईली विजयी भइन् । सदस्यहरुमा एमालेका मिनाकुमारी राई, सीता कार्की क्षेत्री, प्रेमराज गुरुङ, रामप्रसाद लिम्बू र शेरबहादुर राई विजयी भएका छन् भने एसका सपना देवी राई र तृष्णा राई निर्वाचित भएका हुन ।

१० स्थानीय तहबाट २० जना प्रमुख उपप्रमुखहरु मध्ये १० एमाले, नेपाली कांग्रेस ७, एस २ र जसपा १ छ । गठबन्धन सबै एकातिर र एमाले एक्लै हुँदा मत बराबर हुने थियो । एमालेले एस र जसपासँग गठबन्धन गरेपछि गठबन्धनको मत १३ र कांग्रेसको ७ मत थियो । तर, मतदान हुँदा उपप्रमुख र दुई सदस्यलाई मात्र गठबन्धनको सबै मत खसेकोे थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार