खोचिला र उजाड झै लाग्ने घुम्तीहरुमा

  प्रमिशा घिमिरे
14 Shares

अस्ति साझ ल्याएको सागले आज आफ्नो रंग परीवर्तन गरीसकेको छ । किचनको एउटा कुनामा साङ्लो मरेको कति दिन भैसक्यो , म मा त्यो उठाएर फाल्ने सम्म पनि जागर छैन । म कस्को प्रतीक्षामा छु, थाह छैन । कति खेर कमिलाहरु आउलान् र बोकेर लैजालान् । “बाबू फोहोर उठाउने गाडी आयो , फोहोरहरु ल्याउनु ” घरबेटि दिदिले झ्यालबाट भन्नुहुन्छ । म कसरी जबाफ फर्काम कि डस्ट्बिनमा कुनै फोहोर छैन । पुरै फ्लाट बढार्ने हो भने ,डस्टबिनमा प्लास्टिक होइन ,बोरा राख्नुपर्छ । म भित्रको जागरले “जा गर ” नभनेको कति दिन भैसक्यो । भाडाहरु राख्दा राख्दा जुठा भैसके , जसरी कयौदिन सफा कपडाहरु पोको पारेर राख्दा फोहोर हुन्छन् । हरदिन परीकारका सुगन्ध आइरहेको हुन्छ छिमेकबाट , मैले निरास बनाइदिन्छु छिमेकीका नाकहरुलाई । कोठामा छरप्रस्ट छन् , चाउचाउ , बिस्कुट , फ्रुटी , आदिका खोलहरु , थाह छैन कहिले, हावा ,टासिंएका घरहरुलाई उछिनेर मेरो झ्यालसम्म आउने हो अनि डस्टबिन नजिक पुर्याइदिने हो ती बेबारीसे खोलहरुलाई । कपडाहरुले न नुहाएको धेरै भैसक्यो , मैले ,लगाउने कपडा भेट्टाउन्न अनि मात्र तिनिहरुले घाम देख्न पाउछन् ।                                                                          मम्मीले ,आज के पकाइस् त भन्दा ,मलाइ एकछिन लाग्छ तरकारीहरुको नाम सम्झिन । भिडियो कलमा ,मैले जस्तो अभिनय त बिपिन दाइले पनि गर्दैनन् होला सायद । बुवासंग नजर जुधाउन ग्राहो लाग्छ मलाइ , कुराहरु छोटो हुँदै छ । कुनै समय थियो , बुवालाई हर कुराहरु सोधेर घण्टौ बिताउथे । तर आजकल मिनेट बोल्दा पनि घण्टौ बोले जस्तो लाग्छ । पढ्न छ भनेर बहाना गरेको धेरै भैसक्यो । परीवारसंग बोल्दा मन भक्कानिन्छ । मैले भनिसके त , म कलाकार हो भनेर ,आँसुलाई आँखाका डिलसम्म आउनैदिन्न , कुराकानी सक्काएपछी , मैले रोक्नै सक्दिन त्यो भेललाई । आखीर के कुराले रोकेको छ मलाइ ? सबै कुरा त छ । फेरि खुसी कहाँ छ ? विभिन्न प्रस्न मस्तिष्कमा खेलाउदै टोलाउने गर्दो रैछु ,छतमा कपडा सुकाउन जादा घरबेटि दाइले भन्नुभएको । जागर नलाग्नु , टोलाउनु , पढ्न मन लाग्नु तर किताबसम्म पुग्न पाइला नसर्नु ,आखिर के का लक्षणहरु हुन् त ? कतै , डिप्रेसनमा त पुगिन म ?                                                                        आजकल एक्लै रहन मन लाग्छ , सिर्फ म मात्र । घर जादा कहिल्यै घरमा नबस्ने म , कोठा मै बसेको देखेर मम्मी आत्तिनुभएको थियो । साथीहरुले फोन गर्दा पनि कुनै बहाना बनाउथे । घर आएपछि आफन्तहरुको पनि नगएको भन्दै बुवा रिसाउनु भएको थियो । मामाले फोन गरेको गरै हुनुहुन्थ्यो , सायद अहिले त रीसाउनु भयो होला । मलाइ आजकल कसैको मतलब लाग्न छोडेको छ । तेसैले त फेसबुक चलाउदिन । फेसबुकमा सबैको मेसेज रिप्लाई दिन मलाई झेउ लाग्छ । बाटो हिड्दा पनि मास्क लगाएर हिड्न थालेको थिए , तेत्रो लकडाउन भरी बिना मास्क हिडेको म । म सधै नजर झुकाएर हिड्न थालेको थिए ,कसैले नचिनोस भनेर । देख्ने बित्तिकै ,बाबू के गर्दै छौ , पढाइ कहाँ पुग्यो भन्ने प्रस्नको सामना गर्न नपरोस भनेर । पढाइको स्तर हेरेर मान्छेको मुल्यांकन गर्नेको कमि छैन , म परेँ हर कुराहरु सिक्न खोज्ने ,बुझ्न खोज्ने । हर मानिस किताब हो भने , म लाइब्रेरी हुन चाहन्छु।दसैको दिन तास खेल्न बोलाइरहेका थिए साथीहरुले , मैले नआउने भनेपछि , “सेलिब्रेटी मान्छे,कहाँ हामी संग आउछौ र , अझ साइग्रेस दाइसंग पनि चीनजान भएको मान्छे ,अझ नेपग्याजम संग पनि आबद्ध …….” मैले फोन काटिदिएको थिए । अर्को दिन राजधनी फर्के , घरमा पढ्नु छ भन्ने कुरा राखेर । सायद ,म कुन अवस्था बाट गुज्रिएको छु ,थाह पाए भने हासो मै उडाइदिन्छन् ,”अरुलाई ज्ञान दिदै हिड्ने मान्छे अझ…..।” यी मनका गुम्सिएका कुरा कसलाइ सुनाउने त ? कसरी यो द्वन्दबाट बाहिर आउने ? मैले धेरै साथीहरु कमाएको छु , ती साथीहरुले सोसल मिडियामा देखिएको म मात्र देखेका छन् । केही साथीहरु छन् ,म जस्तै परीस्थितीबाट गुज्रिएको , अझ भनौ ,सिए पढ्दै गरेका । सबैले पढ्छन् ,मिहिनेत गर्छन् तर नतिजा । कोइ पनि खुसी छैनन् ,जसले पुन परीक्षा दिई रहेका हुन्छन् । मनको कुरा बुझ्ने भनेको यहि गन्तव्य हुँदै आइरहेकाले हो ।

मान्छेका दुई रुप हुन्छन् , देखावटी एउटा , मन एउटा । मैले इंस्टाग्राममा रमाइलो पोस्ट सबैलाइ राख्ने गर्दिन्छु अनि क्लोज फ्रेन्डमा एउटि मात्र छिन ,जसलाइ प्रेम गर्छु , मनको भाव उतै बेक्त गर्छु । प्रेम भन्ने चिज आकर्षण मात्र होइन, मनको भाव बुझ्नु ठूलो कुरा हो । मलाइ थाह छ , उनी पनि यति स्तिथिबाट अगि बढेकी हुन् सायद छिन पनि । म चाहन्छु यति नजिक हुन ,उनी मनको कुरा मस्त सुनाउन सकुन । आशा छ हामी यो दौडमा भेटिने छौ । उनको बारेमा के सोच्छु , कसरी मन पराए ,कुनै दिन यसरी नै लेख्ने छु ।                                                                          उमेर बढ्दै छ ,मन बेचैन छ , अरुले हेर्दा प्रगती गरेको झै देखिन्छ ,गरेको पनि छु तर मन खुसी छैन । अल्छीपनले मेरो अंगालो छोड्न मानेको छैन । आज एक हप्ता भयो , कोठामा खाना नपकाएको । घरबेटि दिदिको छोरी आउछिन अंकल भन्दै, हामी फ्रुटी पिउदै संगै खेल्छौ ,एकछिन मनले सोच्न छोड्छ ,केही समय खुसी हुन्छु । खुसी त मलाइ उनका टिकटक भिडियोले पनि दिने गर्छ । कुनै समय म धेरै नै सोच्न लाग्छु , तेति बेला ,मुहारमा मुस्कान ल्याउने उनकै भिडियोले हो । मेरो साथि आदिले भनेका थिए ,उनलाई पाउन पढ्दै गरेको बिषय कम्पलिट गर वा खत्रै तरीकाले चिनिनु पर्छ । मैले दुबै गर्दै छु । उनी मेरो प्रेरणाकि स्रोत । “दिदी ,फोहोरको गाडी कहिले आउँछ ” मैले कोठा सफा गरेर ,फोहोर बाहिर लैजादै भनेको थिए । “बिहान त आएको थियो बाबू ,मैले झ्यालबाट भनेकी थिइ,सायद हजुरले पढ्दै हुनुहुन्थ्यो होला ,सुन्नु भएन ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार