इलाम : १ नं. प्रदेशमा ३ हजार ८ सय ७२ स्विकृत दरवन्दी छ । तर यसको ६० प्रतिशत मात्र मुस्किलले कर्मचारी रहेका छन् । दरवन्दी पदपुर्ती र मिलान गर्ने जिम्मेवारी पाएको प्रदेश लोकसेवा आयोगमा माग नै नआएकाले कर्मचारीको पुर्ती हुन नसकेको हो । मुख्यगरि प्रदेश सरकारले नै कर्मचारी माग नगरेको आयोगको भनाई छ । पालिकाहरुले भने केहि माग गर्ने गरेको भए पनि पूर्णरुपमा माग हुन नसकेको देखिएको छ ।
राजनीतिक स्वार्थले कर्मचारी नियुक्ती गर्ने परिपाटीले पनि लोकसेवासँग कम माग भएको हुनसक्ने सरोकारवालाको भनाई छ । २०७६ माघ ९ गते आयोगको गठन भए यता करिव एक वर्ष कोभिडका कारण काम गर्न अप्ठेरो भएको आयोगको भनाई छ । तर काम गर्न थालेपछि पनि प्रदेश सरकारवाट सहयोग नपाएको अध्यक्ष उत्तमकुमार भट्टराईले वताए ।
‘एकातिर कर्मचारी नभएर कतिपय क्षेत्रमा सेवा प्रभावमा असहजता छ,’ उनले भने, ‘अर्कोतर्फ युवाहरु जागिरको खोजिमा भौतारिरहेको अवस्थामा लोकसेवालाई पूर्णरुपमा काम गर्ने वातावरण वनाउनु पर्छ ।’
इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले आफ्नो पालिकामा ३२ कर्मचारीको दरवन्दी रहे पनि ८ जना मात्र रहको वताए । ‘इच्छाशक्तिकै कमिले कर्मचारी पूर्ती हुन नसकेको हो,’ उनले थपे । आयोगले स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका सहायकस्तर चौथो र पाँचौ तहका विभिन्न पदहरुमा २ सय ८० जना कर्मचारी नियुक्ति गरिसकेको छ ।