इलाम : यतिबेला इलामका ग्रामीण भेगका पाखा र जंगलहरूमा ऐंसेलु लटरम्म पाकेकाे छ । तर, गाउँघर युवाविहीन भएका र शहरबजारबाट मानिसहरू गाउँ नपसेकाले पौष्टिकताले युक्त स्वाादिष्ट अग्र्यानिक जंगली फलफूल जंगलमा नै कुहेर खेर गइरहेका छन् । विगत पछिल्ला दुई वर्ष विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण गाउँ पुगेका युवाहरू जंगली फलफूलको स्वादमा रमाएका भए पनि यस वर्ष भने ती फलफूलहरू चराको आहारा र कुहेर खेर गएका स्थानीयले बताएका छन् ।
गत दुई वर्ष विदेश र शहरबाट आएका युवाहरूको गाउँको बसाइले गाउँबस्तीमा चहलपहल बढाएको थियो । उनीहरूले जंगलमा गएर पाकेका जंगली फलफूलहरू खाएर समय बिताएका थिए । अहिले लटरम्म ऐंसेलु पाकेको छ तर खाने मान्छे नहुँदा ती फलफूलहरू त्यत्तिकै जंगलमा खेर गइरहेका छन्,’ गाेलाखर्कका लक्ष्मी लुइटेलले भने, ‘पछिल्लो समय गाउँका बस्ती सुनसान भएका छन् । जंगलमा पाकेका मौसमी फलफूलहरू त्यत्तिकै खेर गइरहेका छन् ।’ वनमा पाकेका ऐंसेलु चराचुरुंगीको आहारामा सीमित भएको उनकाे भनाइ छ ।