सरकारमा नयाँ सोच र नयाँ अनुहारको आवश्यकता छः कांग्रेस सहमहामन्त्री आङ्देम्बे

  नयाँ बुलन्द
77 Shares

 

फाइल तस्वीर

पाँचथरः नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदम्बेले मन्त्रीमण्डलमा बारम्बार एकैथरी अनुहार दोहोरिइरहे पनि कसैले काम देखाउन नसकेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता आङदम्बेले भने, “मन्त्रीमण्डल गठन वा पुनर्गठन गर्दा एउटै अनुहारलाई बारम्बार स्थान दिने गरिएको छ । घरी एउटा मन्त्रालय दिने, घरी अर्को मन्त्रालयमा पठाउने । तर काम केही भएको छैन ।

पर्फमेन्स पनि नदेखाउने अनि बारम्बार दोहोरिने ठीक होइन ।”
चुनावी सरकारले मन्त्री फेरिरहँदा समस्या आउँदैन भन्ने पत्रकार धमलाको प्रश्नमा आङदम्बेले थपे, “अहिले गठबन्धनको सरकार छ । तपाईंले भनेजस्तै बारम्बार मन्त्रीहरु चलाइरहँदा जनतामा नकारात्मक सन्देश जाला वा नयाँ अनुहार लिएर जाँदा सबथोक परिवर्तन पनि नहोला । तर पार्टीभित्र दुईचार जनाबाहेक अरु मन्त्री बन्न लायक कोही छैन जस्तो हुन पनि हुँदैन । त्यसैले सरकारमा नयाँ सोच र नयाँ अनुहारको आवश्यकता छ । यसबारे हामी केन्द्रीय कार्यसमितिमा छलफल गर्छौं ।”
स्थानीय तह निर्वाचनमा गठबन्धनले समग्रमा सकारात्मक परिणाम दिएकाले संघ र प्रदेशमा पनि त्यसले निरन्तरता पाउने कांग्रेस सहमहामन्त्री आङदम्बेले बताए । उनले भने, “समग्रमा गठबन्धनले राम्रै परिणाम दिएको छ । यसको मूल उद्देश्य संविधानको रक्षा र लोकतान्त्रिक मूल्य र मान्यतालाई संरक्षण गर्नु हो । त्यसैले एकअर्काकामा विश्वास मजबुत बनाएर जानुपर्छ । हामीलाई पनि लागेको छ, स्थानीय तहमा गठबन्धन गरेर जाँदा मसिनो ढंगले काम हुन सकेन कि ? घनीभूत छलफल हुन सकेन कि ?”
अब वाम र लोकतान्त्रिक पक्षधर मिलेर जानुको विकल्प नभएको पनि उनले औंल्याए । आङदम्बेले भने, “अहिले नै वामपन्थी र लोकतान्त्रिक शक्तिबीच कित्ताकाट गर्नुपर्ने देखिएको छैन । आफूलाई लोकतान्त्रिक ठान्नेले पनि फाइदाका लागि गलत पात्र र प्रवृत्तिलाई साथ दिएका उदाहरण छन् । अहिले बनेको गठबन्धन लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि भएको हो । त्यसैले हामी गठबन्धनलाई थप सशक्त र विश्वसनीय बनाएर सहकार्यमा अघि बढ्छौं ।”-रिपोटर्स नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार