इलाम : चियाको राजधानीका रुपमा परिचित इलामका किसानहरुलाई चियाको गुणस्तर र उत्पादन बृद्धिका लागि तालिम दिन शुरु भएको छ । चिया तथा कफि विकास बोर्डले १२ सय चिया किसानलाई चियाको कटिङ र गुणस्तरीय टिपाईबारे तालिम प्रदान शुरु गरेको हो ।
इलाममा अहिले रेनि सिजनको चिया टिपाई धमाधम भइरहेको छ । जाडो महिना सुरु भएसँगै चियाको उत्पादन बन्द भएको इलाममा अहिले चियाको टिपाइ र प्रशोधनको काम धमाधम भइरहेको हो । तर यहि सिजनमा चियाको गुणस्तरीय टिपाई नभएपछि चिया तथा कफि विकास बोर्डले गुणस्तरीय चिया टिपाई बारे किसानलाई तालिम शुरु गरेको हो ।
बोर्डले जिल्लाका चिया किसानलाई चिया काट्ने तालिम समेत दिएको थियो । चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले प्रयोगात्मक रुपबाटै चिया किसानलाई गुणस्तरीय टिपाईबारेको तालिम प्रदान गरिएको बताए ।
चियाको लागि धेरै कार्याक्रम भए तर उद्योग लक्षित कार्यक्रम भएका कारण चिया कृषकले केही जानकारी नपाएकाले बोर्डले चरणवद्ध रुपमा किसान लक्षित कार्यक्रम सञ्चालन गरेको हो ।
किसानलाई चियाको छाँटकाँट बारे पुस २ गतेबाट तालिम प्रदान गरेको थियो । चिया टिपाई मात्र नभएर छाँटकाँट, गोडमेल तथा मलपानी लगाउने बारे बोर्डले चरणबद्ध रुपमा तालिम प्रदान गर्दै आएको हो । यस पटक बोर्डले तालिका नै बनाएर सिजन अनुसारको तालिम दिदै आएको छ ।
हरियो पक्ति संकलन र उत्पादन गर्ने चिया सहकारीमा आवद्ध किसानलाई चिया बगानमै काँटछाँट र गुणस्तरीय टिपाईबारे तालिम दिइएको हो । बोर्डले २४ सय किसानलाई चिया काटछाँट बारे तालिम प्रदान गरेको चिया बिस्तार योजना फिक्कलका प्रमुख इन्द्र अधिकारीले बताए । बोर्डले नेपाल सरकारले लागु गरेको चियाको लोगोे लिएका १७ वटा चिया उद्योगमा हरियो पत्ति प्रदान गर्ने किसानलाई तालिम गर्दै आएको छ ।
यस कार्यक्रमले किसानहरुको चियाको गुणस्तरको विकास गर्न सकिने र बजारीकरणमा समस्या नहुने अपेक्षा लिइएको छ । बोर्डका कार्यकारी निर्देशक भट्टराईले भने, ‘यो समय चिया टिपाईको हो । किसानले चिया कसरी टिप्ने भन्ने पनि अहिलेसम्म थाहा नहुँदा चियाको गुणस्तरमा समस्या आएको छ । त्यसैले पनि पहिलो चरणमा चिया कटिङको तालिम दिएर अहिले दोस्रो चरणमा टिपाईको तालिम आवश्यकता भएकाले तालिमको शुरुवात भएको छ । त्यो तालिमपछि हामीले किसानलाई आवश्यक प्रविधि पनि हस्तान्तरण गर्ने योजना छ ।
जिल्लाका २४ सय किसान तालिमका लागि छनौटमा गरि कटिङको तालिम प्रदान गरिएको थियो । कटिङको तालिम पुश २ गतेबाट ११ सम्म इलामका १२ ठाउँमा तालिम सञ्चालन गरिएको थियो । तालिममा १५ देखि ३० जनाको समूह बनाएर तालिम दिइएको थियो । चिया कृषकलाई प्रमाणपत्रको आधारमा छनौट गरेर नहुने भन्दै प्रयोगात्मक रुपमा तालिम दिएको उनको भनाइ छ ।
तालिमका लागि कृषक छनौट गर्दा उद्योगसँग आवद्ध कृषकको सूचीका आधारमा छनौट गरिएको छ । इलाममा तीन हजार तीन सय ९३ हेक्टरमा चिया खेती फैलिएको छ भने झापामा सात हजार एक सय ९५ हेक्टरमा चियाको खेती हुने सर्वेक्षणले देखाएको छ ।
किसानलाई चियाको छाँटकाँटका आवश्यक सीम हस्तान्तरण र गुणस्तरीय टिपाईपछि प्रशोधनको तालिम प्रदान गर्ने योजना बोर्डको छ । चिया छाँटकाँट नमिलाउँदा उत्पादन र गुणस्तर दुवै राम्रो नहुने भएकाले चिया तथा कफी विकास बोर्डले कार्यक्रम सञ्चालन गरेको थियो । जाडो महिना सुरु भएसँगै चिया कटिङ सिजन सुरु भने चैत्र महिनाको शुरु भएसँगै चियाको टिपाई शुरु हुन्छ । यो कार्यक्रम किसानसँग प्रत्यक्ष सञ्चालन हुने भएकाले फलदायी हुने अपेक्षासमेत गरिएको छ ।