इलामः बैंक तथा वित्तीय संस्थाका साधारण सेयरभन्दा संस्थापक सेयर सस्तो हुन्छ । चाहेको बेलामा बिक्री गर्न कठिन हुने, सेयर धितो राखेर कर्जा लिनुपर्दा बजार मूल्यको २५ प्रतिशत मात्र कर्जा पाउने भएकोले संस्थापक सेयर साधारण सेयरभन्दा धेरै नै सस्तोमा किनबेच हुने गरेको छ ।
तर नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यले फरक असाधारण चरित्र देखाएको छ । इन्भेष्टमेन्ट बैंकको साधारण सेयरभन्दा संस्थापक सेयर बढी मूल्यका किनबेच भैरहेको छ ।
बिहीबार बैंकको साधारण सेयर प्रतिकित्ता २९९ रुपैयाँमा कारोबार भएको छ भने संस्थापक सेयर प्रतिकित्ता ३२० रुपैयाँमा कारोबार भएको छ । दाेस्राे बजारमा हुने सेयर काराेबार मूल्यमा बैंककाे कुनै पनि भूमिका नहुने भएकाेले यसबारे टिप्पणी गर्न पनि नमिल्ने बैंकका प्रमुख सूचना अधिकृत विजेन्द्र सुवालले बताए ।
विहीबार यस बैंकका साधारण सेयरधनीले प्रतिकित्ता ७ रुपैयाँ ९० पैसा घटेको छ भने संस्थापक सेयरधनीले प्रतिकित्ता ३५ रुपैयाँ ५० पैसा गुमाएका छन् । विहीबार ६ वटा कारोबारबाट ६० कित्ता मात्र सेयर किनबेच भएको, एकैदिन ९.९९ प्रतिशत मूल्य घटेकोले आगामी दिनमा पनि यो सेयरको मूल्य धेरै घट्ने संकेत गरेको छ ।
इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर बुधबार प्रतिकित्ता ३५५ रुपैयाँमा किनबेच भएको थियो । गत एक वर्षको यो सेयर अधिकतम ४०३ रुपैयाँमा किनबेच भएको थियो । हिमालय बैंकसँगको मर्जर प्रक्रिया भाँडिए पनि खुलेको बजारमा इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य निरन्तर घटिरहेको छ ।
पाँच वर्षअघिसम्म नेपाल इन्भेष्टमेन्ट बैंकलाई बैकिङ क्षेत्रमा सबैभन्दा ठूलो र अग्रणी बैंकको रुपमा लिइन्थ्यो । तर पछिल्लो समय अरु बैंकले हासिल गरेको आर्थिक वृद्धिको तुलनामा यस बैंकको वृद्धिदर कमजोर रहेको छ । त्यसैको प्रतिविम्ब स्वरुप बैंकको सेयर मूल्य ३०० रुपैयाँ भन्दा पनि तल झरेको छ ।-विकासन्युज