सीप विकास परियोजना सकियो, ३१७ जनाले लिए नि:शुल्क तालिम

इलाम :  इलाममा संचालित ‘दीगो रोजगारको लागि सीप विकास परियोजना’ अन्तरगत ३ सय १७ जना युवाले होटल सम्बनधी निशुल्क तालिम लिएका छन् ।

इलाम, देउमाई र सूर्योदय नगरपालिकाका होटलमा विभिन्न समयमा संचालित तालिमबाट होटल तथा आतिथ्यता व्यवस्थापनको क्षेत्रमा आवश्यक पर्ने ‘रुम एटेन्डेन्ट’, ‘होटल एसिस्टेन्ट’, ‘वेटर/वेट्रेस’, ‘जेनरल कुक’, ‘कन्टिनेन्टल कुक’, ‘हाउस किपिङ’, ‘क्लिनर’, ‘रिसेप्सनिस्ट कम क्यासियर’, ‘जेनरल कुक’ तयारी भएको इलाम उद्योग बाणीज्य संघका अध्यक्ष इश्वर चिपालुले जानकारी दिए ।
तालिममा ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत मात्र सैद्धान्तिक कक्षा मात्र रहेको हुँदा तालिम प्रभावकारी भएको सहभागीले बताए । कोभिड माहामारीका कारण सयौंले रोजगारी गुमाइरहेको बेला इलाममा होटल तालिम सञ्चालनले देशमै रोजगारी बन्न उर्जा थपेको सहभागीको भनाई छ । दक्ष कामदार उत्पादनले जिल्लाका होटल सञ्चालनमा थप टेवा पुगेको पाईन्छ । होटलका लागि आवश्यक पर्ने जनशक्ति जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता हटेको चिपालुको दावी छ ।

बेरोजगार तथा रोजगारमा नवप्रवेशी युवाहरुलाई सीप विकास तालिम मार्फत दक्ष जनशक्तिको रुपमा तयार गरि दीगो रोजगारको सिर्जना गर्ने उद्देश्यले इलाममा डेढ वर्षदेखि सो परियोजन संचालित थियो ।

युरोपियन युनियनको आर्थिक सहयोग, ब्रिटिस काउन्सीलको कोष व्यवस्थापन तथा दक्षता कार्यक्रम अन्तरगत इलाम उद्योग वाणिज्य संघले परियोजना  संचालन गरेको थियो ।

परियोजनाका लागि ३ करोड २३ लाख ९७ हजार ६ सय ८५ रुपैयाँ बजेट उपलब्ध थियो । जसमध्ये ७३ दशमलव ६३ अर्थात २ करोड ३८ लाख ५४ हजार ४ सय १५ रुपैयाँ कार्यक्रम खर्च र १९ दशमलव ३७ प्रतिशत अर्थात ६२ लाख ७५ हजार ४ सय ३२ रुपैयाँ प्रशासनिक रहेको छ । त्यस्तै ७ प्रतिशत अर्थात २२ लाख ६७ हजार ८ सय ३८ रुपैयाँ संस्थाको शिरोभार रकम रहेको छ ।

यसैबीच समापन परियोजना सकिएको छ । बुधबार इलाममा सरोकारवालाहरुबीच एक कार्यक्रम गरी परियोजनाको समापन गरिएको थियो ।  इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालुको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख बरालसहित, इलाम नगर प्रमुख केदार थापा, उपप्रमुख विष्णु दाहाल लिम्बु, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, उद्योग बाणीज्य संघका पूर्वअध्यक्ष हिमालय कर्माचार्य लगायतका वक्ताले दक्ष जनशक्तिले उद्यमशीलता विकास गरी आफैं सक्षम बन्नुपर्ने सुझाव राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार