इलामः नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाई र संयुक्त अरव इमिरेट्स दुवई विकाश प्राधिकरणका कार्यकारी निर्देशक खालिफ शेखर महम्मदबीच भेटवार्ता भएको छ । झापाको विर्तामोडस्थित बिएण्सी हस्पिटलका कार्यकारी निर्देशक समेत रहेका प्रसाईं गत शनिवार दुवई पुगेका थिए । उनले बुधबार दुवई विकास प्राधिकरणको औपचारिक भ्रमणको क्रममा प्राधिकरणका कार्यकारी निर्देशक महम्मदसँग भेट गरेका हुन् ।
उक्त भेटमा नेपालको जडीबुटीलाई दुवईको बजारमा प्रवर्द्धन गर्ने, नेपालको कृषि उपज तथा हिमालको पानी मिनरल वाटरको रुपमा वार्षिक २ खर्बसम्मको पानी निर्यात गर्ने लगायतका विषयमा छलफल भएको छ । भेटमा दुवई विकास प्राधिकरणका कार्यकारी निर्देशक महम्मदले जडीबुटीलाई दुवईको बजारमा प्रवर्द्धनका लागि आफ्नो सरकारले सहयोग गर्ने पनि प्रतिवद्धता जनाए । यस्तै नेपालको स्वास्थ र शिक्षाको विकासमा काम गर्ने बारे पनि छलफल भएको छ ।
यसअघि प्रसाईले दुवईका अधिराजकुमार मोहम्मद बिन जुमा अल मकतुमलाई भेट गरेका थिए । प्रसाई र राजकुमार मोहम्मदबीच शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो । प्रसाई ५ दिने भ्रमणको लागि युएई गएका हुन् ।
नेता प्रसाईले बिएन्डसी हस्पिटललाई एसियाकै नमुना अस्पताल बनाउने लक्ष्य लिएका छन् । उनले गरेका मेहनतकै कारण प्रसाईंलाई दुवई भेटका लागि बोलाइएको थियो ।-नेपालवान एचडी