पाँचथरः मेची मार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिकास्थित गणेश चोक हुँदै सुनसरीको चतरा जोड्ने तमोर करिडोर सडक कालोपत्र हुने भएको छ । करीब ११० किलोमिटर लामो सडक कालोपत्रे र स्तरोन्नति गर्न अर्थ मन्त्रालयबाट ५ अर्ब ७६ करोड ८७ लाख रुपैंया बजेट स्रोत सुनिश्चित भएको अर्थ मन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिब हर्क बहादुर नेम्वाङ (मिक्सो) ले जानकारी दिएका छन् ।
पूर्वी पहाडका पाँचथर,ताप्लेजुङ,तेह्रथुम र धनकुटाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने यस सडकको कालोपत्रे भए यहाँका नागरिकले उत्पादन गरेको कृषि उपजदेखि वन पैदावरसम्मका वस्तुको निर्यातमा सहजता हुनेछ । साथै पर्यटन प्रवर्द्धनमा समेत ठूलो टेवा मिल्ने छ । तराई जोड्ने तमोर करिडोेर सडक जोगमनी टिपतला नाकासम्म पुग्ने छोटो मार्ग समेत हुने भएको छ ।