भोजपुर : पछिल्ला वर्ष भोजपुर निकै चर्चामा रह्यो । किनभने यहाँका २ नेता शेरधन राई र राजेन्द्र राई फरक–फरक पार्टीबाट प्रदेशको मुख्यमन्त्री बने । जबकी उनीहरू एउटै पार्टीबाट चुनाव जितेर सांसद बनेका थिए । पहिले शेरधन मुख्यमन्त्री बने । पछि एमाले विभाजन भयो ।
त्यसपछि राजेन्द्र एकिकृत समाजवादीमा गए । अनि उनले पनि मुख्यमन्त्री पाए । आ–आफ्नो पार्टीमा राम्रो पहुँच भएर प्रदेश नै हाँकिसकेका यी नेताको जिल्लामा स्थानीय निर्वाचनको परिणम कस्तो आयो त ? गृह पालिका सुरक्षित गर्न सके कि सनेन् ? चासोको विषय बनेको छ ।
पहिले २०७४ सालको स्थानीय निर्वाचनको परिणाम हेरौंः
भोजपुरका ९ स्थानीय तहमध्ये ४ पालिकामा कांग्रेस, ४ पालिकामा एमाले र एउटामा माओवादी केन्द्र विजयी भएका थिए । त्यसबेला एमालेले ५ उपप्रमुख जित्दा माओवादीले ३ र कांग्रेसले एउटामा मात्रै उपप्रमुख जितेका थिए । समग्रमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो बनेका थिए ।
शेरधन र राजेन्द्र दुवैले उक्त निर्वाचनमा आफ्नो गृहपालिका जोगाउन सकेका थिएनन् । शेरधनको गृहपालिका आमचोकमा प्रमुख उप्रमुख दुवै माओवादी केन्द्रले जितेको थियो । राजेन्द्रको गृहपालिका षडानन्दमा मेयर उपमेयर नै कांग्रेसले जितेको थियो । यसपटकको निर्वाचन पनि दुवैका लागि सुखद् रहेन । किनभने आफ्नो पालिकामा प्रमुख र उपप्रमुख जिताउन सकेनन् । आमचोकमा यसपली पनि माओवादीले नै प्रमुख उपप्रमुख जितेको छ ।
षडानन्दको मेयर एमाले र उपमेयर माओवादीले जिते । यसले गाउँमा उनीहरूको प्रभाव कमजोर रहेको देखाएको छ । यसपटक भोजपुरमा एमाले ३ प्रमुख (हतुवागढी, षडानन्द, पौवादुम्मा) र ३ उपप्रमुखमा (भोजपुर, पौवादुम्मा, टेम्केमैयुङ) खुम्चिदै जिल्लाको दोस्रो दल बनेको छ । उसले पहिलेभन्दा १ प्रमुख (रामप्रसाद राइ) र २ उपप्रमुख (षडानन्द, साल्पासिलिछो) गुमाएको छ ।
पहिलो बनेको कांग्रेसले १ प्रमुख (षडानन्द) गुमाउँदा ३ (हतुवागढी, रामप्रसाद, साल्पासिलिछो) उपप्रमुख थप्न सफल भएको छ । कांग्रेसले ३ प्रमुख (भोजपुर, अरुण, टेम्केमैयुङ) र ४ हतुवागढी, अरुण, रामप्रसाद, साल्पासिलिछो) उपप्रमुख जितेको हो । यस्तै माओवादी १ (रामप्रसाद) प्रमुख थप्दा १ (पौपादुम्मा) उपप्रमुख गुमाएर तेस्रै स्थानमा यथावत छ ।
माओवादीले आमचोक र रापम्रसादको प्रमुख तथा आमचोक र षडानन्दको उपप्रमुख जितेको छ । भोजपुरमा एउटा पालिका (साल्पासिलिछो) स्वतन्त्र उम्मेदवारले जितेका छन् ।