पहिले जोसँग हारे, अहिले उसैलाई हराए

  नयाँ बुलन्द
469 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकामा २०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले नेकपा एमालेका हेमन्त राईलाई पराजित गरे । तत्कालीन संघीय समाजवादी फोरम (हाल जनता समाजवादी पार्टी) को साथ पाएको इदिङ्गोले ५ सय ७८ को मतान्तरमा जित हात पारेका थिए ।

तर उनलाई साथ दिदैं जनता समाजवादी पार्टीबाट उपाध्यक्षको उम्मेदवारी दिएका बिनोद नेम्बाङलाई एमालेकी उम्मेदवार सुनिता सुब्बाले ३ सय १८ मतान्तरले हराइन् ।

पाँच वर्षपछि अहिलेको निर्वाचनमा इदिङ्गो फेरि पालिका अध्यक्षमा दोहोरिने भन्दै उम्मेद्वारी दिए भने, नेकपा एमालेले पनि अघिल्लो पटक पराजित राईलाई नै अध्यक्षको उम्मेदवार बनायो । यता, उपाध्यक्षमा पनि एमालेले सुब्बालाई दोहोर्‍यायो भने गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीले पनि नेम्बाङलाई नै अघि साह्र्यो ।

तर, यसपटक परिणाम ठिक उल्टियो । अघिल्लो पटक अध्यक्ष पदमा राई पराजित हुँदा उपाध्यक्ष पदमा सुब्बा निर्वाचित भएकी थिइन् । तर यसपटक भने अध्यक्ष राई निर्वाचित हुँदा उपाध्यक्षमा सुब्बा पराजित भइन् । विपक्षीको परिणाम पनि उस्तै भयो ।

सुरुआती नतिजामा कांग्रेसका इदिङ्गोले अग्रता लिएपनि पछि भने उक्त अग्रता कायम गर्न सकेनन् । अन्ततः उनी आफ्नो पुरानै प्रतिस्पर्धी एमालेका राईसँग ३ सय २३ मतान्तरले पराजित हुन पुगे । एमालेका राईले ३ हजार ८ सय १८ मत ल्याउँदा इदिङ्गोले ३ हजार ४ सय ९५ मत मात्र पाए ।

अघिल्लोपटक अध्यक्षमा इदिङ्गो निर्वाचित हुँदा उपाध्यक्षमा नेम्बाङ पराजित भएका थिए । तर यसपटक अध्यक्षमा इदिङ्गो पराजित हुँदा उपाध्यक्षमा नेम्बाङ निर्वाचित भए । अर्थात, अघिल्लो निर्वाचनमा राई र नेम्बाङ जोसँग हारे, यसपटक उनैलाई हराए ।

गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेम्वाङले ३ हजार ७ सय २९ मत पाउँदा सुनिता सुब्बाले ३ हजार ४६ मत मात्र पाइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार