विराटनगर : प्रदेश १ मा हालसम्म १२१ स्थानीय तहको नतिजा आइसकेको छ । अब नतिजा आउन बाँकी १६ वटा तह छन् ।
मतणनाको अन्तिम परिणाम आउन बाँकी स्थानीय तहमध्ये काँग्रेस ८ स्थानीय तहमा अगाडि छ । नेकपा एमाले ५ स्थानीय तहमा अगाडि छ भने एकीकृत समाजवादी १ र स्वतन्त्र उम्मेद्वार एक तहमा अगाडि छन् ।
प्रदेश १ मा अब उदयपुरको २, इलामको १, मोरङको ३, सुनसरीको ४, झापाको ६ वटा स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ । तीमध्ये कतिपयको मतगणना अन्तिम चरणमा पुगेको छ ।
उदयपुरको कटारीमा विवादको कारण मतगणना सुरु हुन सकेको छैन । अहिलेसम्मको गणनामा सुनसरीको धरान उपमहानगरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ गठबन्धन र एमालेभन्दा अगाडि छन् भने इलामको सुर्योदयमा नेकपा एकीकृत समाजवादीका रनबहादुर राईले अग्रता कायम राखेका छन् ।
एमालेबाट झापाको मेचीनगर नगरपालिका एमालेका गोपाल बुढाथोकी, अर्जुनधारा नगरपालिकामा बलदेव गोम्देन, शिवसताक्षी नगरपालिकामा मेगाहाङ थोप्रा, गौरादह नगरपालिकामा छत्रपति सुवेदी र मोरङको रंगेली नगरपालिकामा दिलिप बगडियाले अग्रता कायम राखेका छन् ।
काँग्रेसबाट मोरङको विराटनगर महानगरपालिकामा नागेश कोइराला, सुन्दरहरैंचा नगरपालिकामा शिव ढकाल, सुनसरीको इटहरी उपमहानगरपालिकामा हेमकर्ण पौडेल, बराहक्षेत्र नगरपालिकामा रमेश कार्की, हरिनगर गाउँपालिकामा गफार अन्सारी, झापाको कमल गाउँपालिकामा हुकुमसिंह राई, झापाकै गौरीगञ्ज गाउँपालिकामा फुलवती राजवंशी र उदयपुरको कटारी नगरपालिकामा राजेशचन्द्र श्रेष्ठले अग्रता लिइरहेका छन् ।
अहिलेसम्म प्रदेशका ११४ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा नेपाली काँग्रेसले ६२ स्थानीय तहको नेतृत्व जितेर पहिलो स्थानमा छ । यस्तै एमालेले अहिलेसम्म ४१ स्थानीय तह जितेको छ ।
नेकपा र एमालेको विभाजन तथा सत्तारुढ दलको चुनाबी गठबन्धनको कारण काँग्रेसले स्थानीय चुनावमा प्रदेश १ राम्रो फाइदा उठाएको छ । पछिल्लो नतिजा अनुसार काँग्रेस ६२ स्थानीय तहमा प्रमुख/अध्यक्ष जित्दा ४४ वटा उपप्रमुख/उपाध्यक्ष पद जितेको छ । २०७४ मा काँग्रेसले प्रदेश १ मा ५४ स्थानीय तहमा जीत हासिल गरेको थियो ।
२०७४ को निर्वाचनमा प्रदेश १ मा सबैभन्दा धेरै ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले यसपटक दोस्रो स्थानमा खुम्चिएको छ । एमालेले हालसम्म ४१ वटा प्रमुख/अध्यक्ष र ४९ उपप्रमुख÷उपाध्यक्ष पद जितेको छ ।
नेकपा माओवादी केन्द्रले प्रमुख/अध्यक्षमा १२ र उपप्रमुख÷उपाध्यक्षमा २० वटा जितेको छ । अघिल्लो निर्वाचनमा जम्मा ९ स्थानीय तह जितेको उसले यसपटक थप ३ स्थानीय तह जितेको छ ।
अघिल्लो चुनावमा प्रदेशमा ३ स्थान जितेको राप्रपाले अहिलेसम्म २ तहको प्रमुख र २ उपप्रमुख जितेको छ । अघिल्लो पटक २ स्थानीय तह जितेको जसपा (तत्कालीन संघीय समाजवादी फोरम) ले यसपटक २ तहको प्रमुख र २ उपप्रमुख जितेको छ ।
प्रदेश १ मा अहिलेसम्म २ जना स्वतन्त्र उम्मेद्वारले गाउँपालिका अध्यक्ष पदमा जीत हासिल गरिसकेका छन् । नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीले १ प्रमुख/अध्यक्ष र ५ स्थानमा उपप्रमुख/उपाध्यक्ष जितेको छ ।