५ वर्षमा एमालेले गुमाउँदै काठमाडौंका यी ५ स्थानीय तह !

  नयाँ बुलन्द
147 Shares

काठमाडौं : २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये एक महानगर र ६ नगरपालिकासहित ७ वटा स्थानीय तह (पालिका) जितेको थियो । तर, ५ वर्षपछि २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा यो पार्टीले काठमाडौमा थप पालिका जित्नुको साटो पुरानो विरासत समेत गुमाउनु परेको छ । एमालेले २०७४ को निर्वाचनमा काठमाडौ महानगरसहित कागेश्वरी मनहरा, कीर्तिपुर, टोखा, तारकेश्वर, बूढानीलकण्ठ र शंकरापुर नगरपालिका जितेको थियो ।

यी मध्ये यो पटक एमालेले टोखा र बूढानीलकण्ठ नगरपालिकामात्रै जोगाएर अरु चार नगरपालिका गुमाएको छ । एमालेले गुमाउँदा काँग्रेसलाई फाइदा भएको छ । उसले यसपटक नतिजा उल्ट्याउँदै काठमाडौमा आफ्नो उपस्थिति बढाएको छ । काठमाडौंका ११ मध्ये काँग्रेसले चन्द्रागिरी, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, कागेश्वरी, कीर्तिपुर र गोकर्णेश्वर गरी सात पालिका जित्न सफल भएको छ । २०७४ मा पहिलो पार्टी बनेको एमाले यसपटक दोस्रोमा खुम्चँदा काठमाडौको जस्तै देशभरको नतिजामा पनि काँग्रेस पहिलो बनेको छ ।

काठमाडौमा २०७४ मा जितेका चार नगरपालिका गुमाइसकेको एमाले काठमाडौ महानगर पनि गुमाउने अवस्थामा छ । यद्यपी ११ स्थानीय तहमध्ये काठमाडौ महानगरको मतगणना जारी नै छ । काठमाडौ महानगरको लगभग ८० हजार मत गणना भइसक्दा स्वतन्त्र उम्मेदवार भन्दा एमाले उम्मेदवार निकै पछि छन् ।

यी हुन् एमालेले गुमाएका नगरपालिका

१.कागेश्वरी मनोहरा : वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको नतिजा अनुसार यो नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख विजयी भएका छन् । काँग्रेसका उपेन्द्र कार्कीले ११ हजार ३२२ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार रामशरण ढुंगाना ८२६३ मतमा चित्त बुझाउन बाध्य भए । त्यस्तै एमालेबाट छुट्टिएर बनेको अर्को दल नेकपा एकीकृत समाजवादीबाट प्रमुखका उम्मेदवार बनेका कृष्णहरि थापाले ३५५६ मत ल्याए । यो नतिजाले नगरपालिकामा एमाले पार्टी विभाजनको असर प्रस्ट देखिएको छ ।

२०७४ को निर्वाचनमा कागेश्वरी मनोहरामा एमालेका कृष्णहरि थापा ८९६९ मतसहित विजयी भएका थिए । त्यसबेला काँग्रेसका उपेन्द्र कार्की ८४८७ मतसहित दोस्रो र माओवादी केन्द्रका महेश्वर फुयाल २५६७ मत ल्याएर तेस्रो स्थान बनाएका थिए ।

२. कीर्तिपुर : एमाले विभाजनको फाइदा उठाउँदै अहिलेको निर्वाचनमा कीर्तिपुर नगरपालिका काँग्रेसको कब्जामा पुगेको छ । काँग्रेसका मेयरका उम्मेदवार राजकुमार कार्की ९ हजार ४३ मत ल्याएर निर्वाचित हुँदा एमालेका केशरत्न वज्राचार्य ५५०७ मतमा चित्त बुझाउन बाध्य भए । यो पटक किर्तिपुरको मेयर पदका लागि टिकट वितरण गर्दा अध्यक्ष केपी ओलीले आफन्तलाई दिएको भन्दै विरोध गरेका थिए । त्यस्तै माओवादीका शिवशरण महर्जनले ४०९० मत ल्याएर तेस्रो स्थान बनाउदा नेकपा एकीकृत समाजवादीका प्रमुखका उम्मेदवार बटुकृष्ण थापाले ११५३ मत पाएका छन् ।

एमालेको गढ मानिने किर्तिपुरमा २०७४ को निर्वाचनमा एमालेका प्रमुखका उम्मेदवार रमेश महर्जनले ७३६० मत ल्याएर निर्वाचित भएका थिए भने काँग्रेसका राजुकुमार नकर्मी ७७१७ मत ल्याउदै एमाले उम्मेदवारसँग प्रतिस्पर्धा गरेका थिए । त्यस्तै माओवादी केन्द्रका उम्मेदवारले ४००९ मत ल्याएर तेस्रो स्थान बनाएका थिए ।

३.तारकेश्वर : यो नगरपालिकामा यस पटक नेपाली काँग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले झण्डै ३ हजारको अन्तरमा ११९८८ मतसहित निर्वाचित बने । जबकी एमालेका रामेश्वर बोहोराले ७८०८ मत ल्याएर दोस्रो भए । एमालेबाटै फुटेको एकीकृत समाजवादीका उम्मेदवार लवकुमार बस्नेतले २५२८ यसपटक मत ल्याएर तेस्रो स्थान बनाए ।

२०७४ को निर्वाचनमा तारकेश्वरको मेयरमा एमालेका रामेश्वर बोहोरा ९३२६ मतसहित निर्वाचित भएका थिए । त्यसबेला काँग्रेसका श्रीराम थापाले ७७५७ मत ल्याएका थिए भने माओवादी केन्द्रका धनलाल महर्जनले ३२२१ मत ल्याएका थिए ।

४.शंखरापुर : एमालेबाट खोस्दै यो पटक शंखरापुर नगरपालिकामा राप्रपाले कब्जा जमाउन सफल भयो । राप्रपाका मेयरका उम्मेदवार रमेश नापित ४७०० मतसहित शंखरापुरको प्रमुखमा निर्वाचित भए । यो नगरपालिकामा नेकपा एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ४२०२ मत ल्याएपनि राप्रपाका श्रेष्ठले ४९८ मतान्तरमा नापित निर्वाचित बने । यो नगरपालिकामा एमालेका कृष्णलाल बजगाईं ३६२२ मतमा सिमित बन्दा माओवादी केन्द्रका उम्मेदवार मधु केसी २२४४ मतमा चित्त बुझाउन बाध्य भए । २०७४ को निर्वाचनमा यो नगरपालिकामा एमालेका शुर्वण श्रेष्ठ ४८६९ मतसहित निर्वाचित भएका थिए । त्यसबेला उनका प्रतिस्पर्धी काँग्रेसका शंकर तिवारीले २९४७ मत पाएका थिए भने तेस्रोमा राप्रपाका मिजेन्द्रकाजी श्रेष्ठ २४६१ मत पाएका थिए । राप्रपाको मत अहिले पहिलो बन्यो ।

५.गुमाउन लागेको काठमाडौं महानगर : २०७४ सालको स्थानीय निर्वाचनमा काठमाडौ महानगरमा एमालेका विद्यासुन्दर शाक्य झण्डै २० हजार मतान्तरले निर्वाचित भएका थिए । काँग्रेसका राजुराज जोशीलाई हराउँदै प्रमुख बनेका विद्यासुन्दरले त्यसबेला ६४,९१३ मत प्राप्त गरेका थिए । काँग्रेसका जोशीले ४५२६९ मत ल्याउँदा विवेकशीलकी रञ्जु दर्शनाले २३४३९ मत पाएकी थिइन् ।

तर यस पटक अहिलेसम्मको मत गणनामा महानगरको प्रमुख पद एमाले मेयरका उम्मेदवार केशव स्थापित झण्डै आधा मतले पछि परेका छन् । शुक्रबार अपरान्हको नतिजामा महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साह भन्दा झण्डै आधा कम मत पाएका स्थापितको भोट बैंक रहेको भनिएका वडाहरूको मत गन्दा समेत साहको अग्रता तोड्न सकेका छैनन् । यो महानगरमा साह, स्थापित र काँग्रेसका सिर्जना श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ ।

-रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार