पाँचथरः फाल्गुनन्द गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष बृजहाङ आङ्देम्बेले शुक्रबार पदभार ग्रहण गरेका छन् ।
अध्यक्ष आङदेम्बेले पदभार ग्रहण गर्दै दुई वटा निर्णयहरु कार्यन्वयन गर्ने पहिलो प्रतिवद्धता जनाएका छन् । पहिलो निर्णय वडा कार्यालयको सिफारिसको आधारमा स्वास्थ्य शाखाको समन्वयमा पालिकाको तर्फबाट हरेक वडाका अति विपन्न ३० घर परिवारको निःशुल्क स्वास्थ्य विमा गरिदिने र दोस्रो निर्णय गत वर्ष कार्तिकमा परेको बेमौसमी वर्षाका कारण मृत्य भएका,घर पूर्ण र आंशिक क्षति भएका परिवारले विगतमा राहत नपाएका तथा राहत आवश्यक परेका परिवारलाई यसै आर्थिक वर्षभित्र राहत उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
उनले पालिकामा यसअघि जनप्रतिनिधिले गरेका बाचाहरुलाई निरन्तरता दिइने,कर्मचारी र जनप्रतिनिधिहरुको टिमले समन्वयकारी भूमिका निर्वाह गर्दै समुन्नत पालिका निर्माणमा एकजुट हुने बताउँदै निर्वाचनमा खट्नु भएका निर्वाचन कार्यालयका सम्पूर्ण टिम,आम मतदाता लगायत सवै कर्मचारीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
यस पालिकामा निर्वाचित उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूको शपथ ग्रहण शनिबार हुने जनाएको छ ।
पालिकाको कार्यपालिका महिला,दलित वा अल्पसंख्यक सदस्य पदको लागि निर्वाचन प्रकृया जेठ १८ गते भित्र सम्पन्न गर्ने गरिको तालिका समेत सार्वजानिक गरिएको पालिकाका निर्वाचन अधिकृत अमृत बहादुर राईले जानकारी दिए ।