पाँचथरः पहिलो स्थानीयतहको निर्वाचनमा एउटा मात्रै पालिका प्रमुख हात पारेको माओवादी केन्द्रले यसपटक पाँचथरमा बर्चश्व फराकिलो बनाएको छ । आठ स्थानीयतह रहेको यस जिल्लामा सत्तागठबन्धनबाट माओवादी केन्द्रले पाएको भागबण्डा मध्ये अघिकांश उम्मेद्वार विजयी गराउन सफल बनेसंगै गठबन्धनले पार्टीलाई फलिफाप भएको १ नम्बर प्रदेशका अर्थ मन्त्रीसमेत रहेका पार्टीका केन्द्रिय सदस्य इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले बताए ।
यसअघिको निर्वाचनमा मिक्लाजुङ गाँउपालिकाको प्रमुखमा माओवादी केन्द्रका अमरराज माखिम प्रमुख पदमा निर्वाचित एक्ला नेता थिए । यस चुनावमा पनि उनले एमालेका अध्यक्ष पदका उम्मेद्वारलाई पराकिलो मतान्तरले पराजित गर्दै पुनःदोस्रो कार्यकालका लागि विजयी बनेका छन् । उनले यस पालिकामा धेरै नमुना काम गरेको र कृषक प्रोत्साहन कार्यक्रम ल्याएको भन्दै देशभर निक्कै चर्चा चुलिएको थियो ।
गठबन्धनको सहमतिले उपाध्यक्ष पद माओवादी केन्द्रको भागमा परेका तुम्वेवा,कुम्मायक,फाल्गुनन्द र फालेलुङ गाँउपालिकामा विजयी भइसकेको छ भने फिदिम नगरपालिकाको उपमेयरमा अग्रता कायम राखेको छ । याङ्वरकमा मात्रै माओवादी केन्द्र कम्जोर बनेको छ ।
केन्द्रिय गठबन्धनलाई निरन्तरता दिंदै विश्वासको साथ इमान्दारीपूर्वक सबैले सहज वातावरण बनाएका कारण अहिलेको अवस्थामा परिणाम सोचे जस्तो आउन सफल भएको नेता आङ्बोले दावी गरेका छन् । यस परिणाले तलैदेखि पार्टी निर्माण प्रकृया शुरू भएको उनको भनाई छ । उनले भने, “पार्टी निर्माण गर्ने कुरा सत्ता,सरकार र विभिन्न रुपमा जोडिन्छ, त्यसैले सत्तागठबन्धनको ठूलो महत्व छ” । २०६४ साल पछि अनेक कारणले बीचमा पार्टी टुटफुट र विभाजनले गर्दा जनताका सामु जाने आधारहरु कम्जोर भइरहेको बेला कार्यकर्ता र जनतामा निरासा छाएको थियो । तैपनि कार्यकर्तालाई अविचलित नहुन आव्हान गर्दै यस ठाउँमा आइपुग्न मसिनो गरि निक्कै मेहनत गरको बताए ।
पार्टीले आफ्नो हैसियतलाई विगतको मार्गमा फर्काउने संकेत गरेको उनी बताउँछन् । शुरुवातमा अहिलेको पाँच दलिय गठबन्धन बामगठबन्धन जस्तो सजिलो नभएता पनि प्रतिगमन विरुद्ध एक वर्षे मोर्चापछि सत्तागठबन्धनको यात्रा सहज बनेको उनको भनाइ छ ।
आगामी निर्वाचन र पार्टी निर्माणमा अहिलेको स्थानीय चुनाव कोशेढुंगा सावित हुने पार्टीले विश्वास लिएको उनले दावी गरे ।एमालेका तल्लो स्तरका कार्यकर्तासंग कुनै विरोध र नराम्रो सम्बन्ध नभएको तर केपी ओलीको प्रतिगमन प्रति जनस्तरमा समेत घृणा पैदा भएको आरोप लगाउँदै गठबन्धनको बाध्यता सृजना भएको उनी बताउँछन् ।
माओवादीले हालसम्म जिल्लामा वडाध्यक्षसहित अन्य सदस्यहरु समेत विजयी गराएकाले आगामी दिनमा पार्टी र सिंगो गठबन्धन जिल्लामा मजवुद्ध हुने विश्वास सहित पार्टी विगतको सबल अवस्थाको दिशातिर उन्मुख रहेको नेता आङ्बो र पार्टीको प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोको दावी छ ।
माओवादी केन्द्रको बर्चश्व फराकिलो बनेपछि कार्यकर्ताले धैर्यताको फल पाएको महसुस गरेको भन्दै गृह जिल्लाको परिणामले तिनै तहका नेता उत्साही बनेका छन् ।