फाकफोकथुममा एमालेको ३९९ मत अग्रता,गठबन्धनले पछ्याउँदै

  युद्धबहादुर बोहोरा
2.2k Shares

इलाम: फाकफोकथुम गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार दीपेन्द्र खनाल र  कल्पना राईले अग्रता लिएका  छन् ।

यसअघि वडा नम्बर १ र २  को जम्मा ३३६६ मत गणना सम्पन्नसम्म नेपाली काँग्रेसका डिक बहादुर थापाले एमालेका खनाललाई २५५ मतले उछिनेका थिए भने उपाध्यक्षमा गठबन्धन तर्फ माओवादी केन्द्रका उम्मेद्वार कुल बहादुर बान्तवा (केवी) ले एमालेकी राईलाई २०७ मतको अग्रता कायम गरेका थिए ।

जब ४ नम्बर वडाको २०२२ मत गणना सम्पन्न भइ हाल ५ नम्बर वडाको १४०० गरि जम्मा ६७८८ मत गणना हुँदासम्म भने अध्यक्ष पदमा एमालेका खनालले ३९९ मतको अग्रताले लिड गरेका छन् ।

यता,उपाध्यक्षमा पनि एमालेकी राईले ४९७ मतको अन्तरले माओवादी केन्द्रका बान्तवालाई पछि पारि रहेकी छिन् । एमालेका खनालले हालसम्म ३२२८ मत प्राप्त गर्दा कांग्रेसका थापाले २८२९ मात पाएका छन् भने उपाध्यक्षमा एमालेकी राईले ३०९१ मत पाउँदा माओवादीका बान्तवाले २५९४ मतले पछ्याइ रहेका छन् ।

अब ५ नम्बर वडाको मत गणना जारी रहेको साथै बाँकी ३८ मत गणनापछि वडा नम्बर ६,७ र ३ को गणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस पालिकामा जम्मा ११३८३ मत खसेको छ । वडा नम्बर ६ मा १३३०,७ नम्बर वडामा १७७१ र ३ नम्बर वडामा १५५८ मत सहित जम्मा ४५५९ मत गणना गर्नु पर्नेछ ।

गणना सम्पन्न भएका वडामा १ र २ नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ भने ४ नम्बर वडामा काँग्रेसका वडाध्यक्ष र सदस्यहरूमा एमालेका उम्मेदवार विजयी बनेका छन् । ५ नम्बर वडाको अध्यक्षमा  एमालेले अग्रता लिएको छ ।

खनाल पालिकाको एमाले पार्टीका अध्यक्ष हुन् भने कांग्रेसका पालिका सभापति समेत रहेका थापा यसअघि ६ नम्बरका अध्यक्ष बनेका थिए । यसपटक अध्यक्ष पदमा पार्टीको नेतृत्व सम्हालेका दुवै उम्मेद्वार बीच कडा प्रतिस्पर्धा गरिरहेका छन् । उपाध्यक्ष पदका उम्मेद्वार बान्तवा पनि माओवादी केन्द्रका पालिका अध्यक्ष हुन् ।

एमालेका खनाल पहिलो स्थानीय तहको निर्वाचनमा यस पालिकाको अध्यक्ष पदका प्रतिस्पर्धी कांग्रेसका राम कुमार श्रेष्ठसंग पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार