पाँचथरः फाल्गुनन्द गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वार बृजहाङ आङ्देम्बे फराकिलो मतान्तरले निर्वाचित भएका छन् ।
एमालेका वीर वहादुर कुरुम्बाङलाई १०९६ मत अन्तरले हराउँदै आङ्देम्बे अध्यक्षमा निर्वाचित भएका हुन् । गठबन्धन तर्फको कांग्रेसबाट उम्मेद्वार बनेका आङ्देम्बेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्दा एमालेका कुरुम्बाङलाई ४ हजार ६ सय ४३ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्ष पदमा पनि गठबन्धन तर्फ माओवादी केन्द्रका उम्मेद्वार ठाकुर सिंह नेम्बाङ विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी एमाले र जसपाको तर्फबाट साझा उम्मेद्वार बनेकी वविता नेम्बाङलाई ६ सय ५७ मतले हराउँदै निर्वाचित भएका छन् । जसपाकी नेम्बाङले ४ हजार ४ सय ४३ मत प्राप्त गर्दा माओवादी केन्द्रका नेम्वाङले ५ हजार १ सय मत पाएका छन् । गत २०७६ सालको उपनिर्वाचनमा यस गाउँपालिकामा हालका दुवै अध्यक्ष पदमा उम्मेद्वारको प्रतिस्पर्धामा तत्कालीन बाम गठबन्धनको तर्फबाट वीर बहादुर कुरुम्बाङले कांग्रेसका आङ्देम्बेलाई पराजित गरेका थिए ।
अहिले २०७९ को निर्वाचनमा त्यसको पालो फर्काउँदै आङ्देम्बे निर्वाचित भएका छन् । ७ वटा वडा रहेको यस पालिकामा १,२,३,४,६ र ७ मा गठबन्धनले वडाध्यक्ष क्रमशः होम प्रसाद आङ्देम्बे,सन्तोष कुमार नेम्बाङ,सुख वीर नेम्बाङ,दल बहादुर नेम्बाङ,नारायण प्रसाद आङ्देम्बे र देउकुमार आङ्देम्बे सहित अन्य सदस्यहरु जितेको छ भने ५ नम्बरमा गठबन्धनका एक सदस्य वाहेक वडाध्यक्षमा एमालेका विष्णु कुमार चेम्जोङ सहित अन्य सदस्यहरु विजयी बनेका छन् ।
फाल्गुनन्दमा नेपाली कांग्रेस,माओेवादी केन्द्र,नेकपा (एस) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठवन्धन गरेको र एमालेले जसपासंग तालमेल गरेको थियो ।
हाल सम्म पाँचथरको हिलिहाङ,कुम्मायक,फालेलुङ र फाल्गुनन्द गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजानिक भएको छ ।