माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको स्थानीय तह सदस्य निर्वाचनको मतगणना जारी छ । अस्ती रातिदेखि सुरु भएको मतगणना हालसम्म वडा नम्बर १, ४, ५ र ६ को सम्पन्न भइसकेको छ । जसमा १ मा नेकपा माओवादी केन्द्र, ४ र ६ मा नेकपा एमाले र ५ मा राष्ट्रिय जनमुक्ति विजयी भईसकेको छ । अहिले वडा नम्बर २ र ३ को मतगणना जारी छ । मतपरिणाम भने सार्वजनिक भएको छैन ।
हालसम्म ४ वटा वडाको ४ हजार ९ सय ४० मतगणना सकिदाँ अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेपाली कांग्रसेका उम्मदेवार डिकेन्द्र इदिङ्गो झिनो मतान्तरले अगाडि छ । इदिङ्गोले २ हजार २ सय ३७ मत पाउँदा उनका प्रतिप्षर्धी नेकपा एमालेका हेमन्त राईले २ हजार १ सय ४ मतका साथ पच्छाइरहेका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा पनि गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेद्वार विनोद नेम्बाङले २ हजार १ सय २८ मत पाउँदा एमालेकी उम्मेद्वार १ हजार ९ सय ११ मतका साथ पच्छाइरहेका छन् ।
माङसेबुङमा १२ हजार ५ सय ६८ मतदातामध्ये ८ हजार ३ सय ७ मत खसेको थियो ।
अघिल्लो निर्वाचनमा समेत हालका उम्मेद्वारहरु नै एकआपसमा प्रतिष्पर्धी थिए । तर कांग्रेसका इदिङ्गो र एमालेकी सुब्बा विजयी भएकी थिइन् ।
माङसेबुङमा गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको गठबन्धन बनेको थियो भने वडा नम्बर १ मा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन थियो ।