खनाल र नेम्वाङको गाउँको निर्वाचन

  नयाँ बुलन्द
511 Shares

इलाम : आसन्न स्थानीय तह निर्वाचनमा चासोपूर्वक हेरिएकोमध्ये एक जिल्ला पूर्वी नेपालको इलाम पनि हो । एमालेको पकड क्षेत्र मानिने इलाम पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वाङको गृहजिल्ला हो । दुवैजनाका लागि स्थानीय निर्वाचनको परिणाम प्रतिष्ठा बन्ने देखिन्छ । किनकि ०७४ को निर्वाचनमा जिल्लाका १० पालिकामध्ये एमालेले सात र कांग्रेसले तीन पालिका जितेको थियो ।

एमालेले इलाम नगरपालिका, चुलाचुली गाउँपालिका, देउमाई नगरपालिका, माई नगरपालिका, माई–जोगमाई गाउँपालिका, सन्दकपुर गाउँपालिका र सूर्योदय नगरपालिका जितेको थियो । फाकफोकथुम गाउँपालिका, माङसेबुङ गाउँपालिका र रोङ गाउँपालिका कांग्रेसले जितेको थियो ।

एक्लै सात पालिका जितेको एमाले यतिवेला विभाजित छ । विभाजनको नेतृत्व गरेका र पछि गठन भएको एकीकृत समाजवादी पार्टीमा खनाल सम्मानित नेता हुन् । भर्खरै गठन भएको पार्टी एकीकृत समाजवादी पहिलोपटक निर्वाचनमा होमिँदै छ । त्यसकारण सम्मानित नेता खनाल र एकीकृत समाजवादीको प्रभाव जिल्लामा कस्तो छ भन्ने परीक्षा पनि आसन्न स्थानीय चुनावको परिणामले देखाउने पक्कापक्की छ ।

अर्कोतर्फ एमाले उपाध्यक्ष नेम्वाङका सामु ०७४ को बिरासत जोगाउने चुनौती छ । त्यसमाथि पाँचदलीय गठबन्धनबीच तालमेलको प्रयास पनि भएका छन् । त्यसकाण पनि स्थानीय निर्वाचनमा इलामलाई चासोपूर्वक हेरिएको छ । यद्यपि, जिल्लामा कांग्रेस दोस्रो शक्ति हो ।

०७४ को निर्वाचनमा माओवादी केन्द्र कुनै पालिका नजिती तेस्रो शक्ति बनेको थियो । एमालेले भने जिल्लामा खासै विभाजनको असर नभएको दाबी गर्दै आएको छ । तर, विभाजको बेला एमालेबाट जितेका केही जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका थिए । त्यसकारण विभाजनको असर इलाममा स्वतः परेको छ । तर, उसले माओवादीलगायत पार्टीबाट नेता–कार्यकर्ता भित्र्याएर त्यसको भर्पाई गरिसकेको दाबी गर्दै आएको छ । तर, पाँचदलीय गठबन्धनबीच तालमेल हुन नसकेको र एक्लाएक्लै लड्ने अवस्था आएको भए मात्र एमालेका लागि चुनाव सहज हुने थियो ।
तर यसपटक नेपाली कांग्रेसका लागी भने चुनाव जित्न सहज देखिन्छ । पाँच दलिय गठबन्धन गाठो कसेर चुनावमा होमिएको दलका नेता तथा कार्यकर्ताले यतिबेला गाउँघरमा गठबन्धन अझ कसिलो बनाउदै लगेका छन । यसैले पनि एमालेका लागि बिरासत जोगाउन यसपटक सजिलो भने पक्कै छैन ।

गत निर्वाचनमा जिल्लामा एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय समाजवादी फोरम, नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल र स्वतन्त्र चुनावी मैदानमा थिए । यसपटक जिल्लामा ६ राष्ट्रिय दलबाहेक ११ स्वतन्त्र दल दर्ता भएका छन् । जिल्लामा १ लाख १५ हजार ५ सय ५४ पुरुष, १ लाख ९ हजार १ सय ९२ महिला र अन्य २ गरी २ लाख २४ हजार ७ सय ४८ मतदाता छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार