मतदाता नामावलीमा नाम नभए के गर्ने ? सूचीमा आफ्नो नाम भए नभएको कसरी हेर्ने ?

  नयाँ बुलन्द
455 Shares

काठमाडौं : निर्वाचनको माहोलले तपाईंलाई पनि मतदान प्रक्रियामा सहभागी हुन उत्साहित बनाएको होला । तर, मतदाता नामावलीमा नाम छैन, कसरी भोट हाल्ने भन्ने प्रश्न मनमा उब्जिएको होला । यसका लागि मतदाता नामावलीमा नाम हुनुपर्छ ।

तर, नाम कसरी राख्ने त ? चुनाव सकिएपछि वा चुनावअघि जिल्लास्थित निर्वाचन आयोगको कार्यालयमा आफ्नो नागरिकता लिएर गएपछि मतदाता नामावलीमा नाम राख्न सकिन्छ । यसका लागि १८ वर्ष उमेर पुगेको हुनुपर्छ ।

अहिले नागरिकता बनाउने समयमै जिल्ला प्रशासन कार्यालयमा पनि मतदाता नामावलीको फोटो खिचिन्छ । ‘नागरिकता १६ वर्षको उमेरमा बन्छ, भोट १८ वर्ष पुगेपछि हाल्न पाइन्छ । नागरिकता बनाउने समयमा नामावलीको लागि फोटो खिचिन्छ । १८ वर्ष पुगेपछि सिस्टमले अटोमेटिक मतदाता नामावलीमा नाम आउँछ,’ जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर भट्टराई भन्छन् ।

एक जिल्लाबाट अर्को जिल्लामा नाम सार्नुपरेमा वा नाम लेख्नु परेमा बसाइँसराइँ वा विवाह दर्ताको प्रमाणपत्र चाहिने हुन्छ ।

के अहिले नाम लेखाउन मिल्छ ?

अब स्थानीय चुनाव आउन एक साता मात्र बाँकी छ । १८ वर्ष उमेर पुगेका धेरैको नाम मतदाता नामावलीमा नाम छुटेको छ । मतदाता नामावली सार्न र सच्याइ पाउँ भन्ने निवेदन आयोगमा आइरहेको छ । तर, उनीहरूले अहिले मतदाता नामावलीमा नाम लेख्न र सच्याउन पाउँदैनन् । निर्वाचन आयोगले यो चुनावका लागि अन्तिम मतदाताको नामावली प्रकाशन गरेर प्रत्येक पालिका–पालिकामा पुर्‍याइसकेको छ । ‘अहिले नाम राख्न पाइँदैन । चुनाव सकिएपछि मात्र मतदाता नामावलीमा नाम राख्न पाइन्छ,’ ठाकुर भन्छन् ।

निर्वाचन आयोगले अहिल नामावली थपघट र हेरफेर नहुने स्पष्ट पारेको छ ।  स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकाले आयोगबाट नियमित हुँदै आएको मतदाता नामावली सङ्कलन कार्य मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने भएकाले सो कार्य गत माघ २५ गतेदेखि स्थगन भएको आयोगले जनाएको छ ।

मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न गरी आयोगले  गत १३ चैत  गते दोहोरो नामावली हटाउनेलगायत प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो । अब स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मतदाता नामावली सङ्कलन र अद्यावधिकको कार्य पुनः सुचारु हुने आयोगले जनाएको छ । सो समयमा मतदाता नामावलीमा नाम दर्ता गर्न, त्रुटि सच्याउन, हटाउन, ठाउँ सार्न बाँकी रहेका व्यक्तिले सम्बन्धित निर्वाचन कार्यालयमा गई दर्ता गर्ने, त्रुटि सच्याउनेलगायत कार्य गर्न सकिनेछ ।

आफ्नो नाम भए नभएको कसरी हेर्ने ?

३० वैशाखमा हुने चुनावका लागि आयोगले मतदाता नामावलीको विवरण सम्बन्धित पालिकामा पठाएकाले आफ्नो पालिकामा गएर पनि हेर्न सकिन्छ । यदि तपाईंले फोटोसहितको नामावली दर्ता गर्नुभएको छ भने आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर आफैँले पनि हेर्न सक्नुहुन्छ । यसका लागि निर्वाचन आयोगले अनलाइनमै हेर्न सक्ने व्यवस्था गरेको छ ।

मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भनेर हेर्न यहाँ क्लिक गर्नुहोस् । यो लिंकमा गएर तपाईंले आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदानस्थलको विवरण छानेपछि तपाईंको क्षेत्रमा भएका सबै मतदाताहरूको विवरण देखिनेछ । आफ्नो नाम छानेपछि खुल्ने विवरणमा जन्म मिति वा नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको तपाईंको सम्पूर्ण विवरणसहितको मतदाता परिचयपत्र देखिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार