नेम्बाङको कटाक्ष : ‘खनालको अभिव्यक्ति आएदेखि हाछ्युँ शुरु’

  नयाँ बुलन्द
154 Shares

इलाम : स्थानीय निर्वाचन नजिकिएसँगै नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ गृहजिल्ला इलाम दौडाहामा छन्। पालिका कमिटीको आयोजनामा हुने चुनावी सभामा उनी एमाले उम्मेदवारलाई भोट माग्दै हिँडिरहेका छन्।

 

 

नेम्बाङ आजकाल हुने चुनावी सभा र कार्यकर्ता प्रशिक्षणमा सबैभन्दा खरो रूपमा पूर्वसहयोद्धा झलनाथ खनालको विरोधमा देखिन्छन्। नेकपा विभाजनपछि जिल्लामा हुने हरेकजसो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको कटाक्षमा उत्रिन्छन्।

हरेक कार्यक्रममा घुमाउरो शैलीमा खनाललाई लक्षित गर्दै ‘नाम चाहिँ बिर्सिए अनुहार झलझली आउँछ, अन्तरे हो कि जन्तरे’ जस्ता शब्द बाण प्रहार गर्छन्। नेकपा एमाले विभाजनपछि आजकाल नेम्बाङ इलाममा हुने कार्यक्रममा नेकपा एमालेको एजेन्डाभन्दा पनि बढी खनालको विरोध गर्छन्।

शनिबार फाकफोकथुम गाउँपालिकामा आयोजित एमालेको चुनावी जनसभालाई सम्बोधन गर्दै नेम्बाङले ‘नाम बिर्सिए पनि हिजो अस्तिसम्म आफ्नै नेता भएजस्तो लाग्ने मान्छे अहिले कता पुग्नुभयो थाहा छैन’ भन्दै खनालप्रति कटाक्ष गरे।

केही समयअघि खनालले चुनावमा ओलीको बाकस खाली गराउनुपर्ने र नेकपा एमालेलाई धुलो चटाउने अभिव्यक्तिलाई फाकफोकथुममा स्मरण गर्दै नेम्बाङले भने‚ ‘मलाई धुलोसँग एलर्जी छ। उहाँको अभिव्यक्ति आएदेखि हाछ्युँ शुरु भएको छ।’

गठबन्धनको नाममा महिलामाथि अन्याय भएको बताउँदै नेम्बाङले आफूहरूले नीति नियम र कानुन निर्माणमा महिलाको सम्मानजनक सहभागिता गराए पनि गठबन्धनको नाममा अधिकार कुण्ठित गरेको आरोप लगाए।

उनले महिला दिदीबहिनी सहित आमजनताले वैशाख ३० गते जवाफ दिनुपर्ने बताए। नेकपा एमाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एक्लै चुनावी मैदानमा उत्रिएको बताउँदै उनले जित आफूहरूकै भएको बताए।

केपी ओली राष्ट्रवादी नेता भएको जिकिर गर्दै नेम्बाङले भारतीय पत्रकारले भारतको भाइ नेपाल भनी लिएको अन्तर्वार्तामा प्रतिवाद गर्दै भारतसँग नेपालको समान हैसियत सुझाएर पठाएको स्मरण गरे।

सीमा अतिक्रमणको विषयमा केपी ओलीले लिएको अडान र काम हरेक नेपालीले आजीवन नभुल्ने उनले दाबी गरे। ओली प्रधानमन्त्री हुँदा अन्तरराष्ट्रिय सम्बन्ध मजबुत बनाएको उनको जिकिर छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार