इलाम : चुनाव आउन केही दिन बाँकी रहँदा उम्मेदवार घरदैलो गरिरहेका छन् भने मतदाता उम्मेदवार जोख्न व्यस्त छन् । त्यसमाथि लाखौंको संख्यामा थपिएका किशोर अवस्थाका मतदाताको आफ्नै रुचि छ । कोही युवापुस्ताको प्रतिनिधित्व चाहन्छन् त कोही विकासप्रेमी नेता छान्नुपर्ने मान्यता राख्छन् । राजनीति नीतिहरुको राजा हो ।
चुनावलाई त्यही राजनीति चलाउने मेरुदण्ड मानिन्छ । राजनीतिक प्रतिवद्धता बोकेका कार्यकर्ताहरु झण्डा बोकेर उम्मेदवार घेरेर हिँडेका देखिन्छन् । ज्येष्ठ नागरिक संस्कृति, सम्पदा र विकास अग्रभागमा राख्छन् । उनीहरुको चासो सामाजिक सुरक्षामा छ । युवाहरु रोजगार सिर्जनालाई पहिलो प्राथमिकतामा राख्छन् । केही मतदाताको राजनीतिप्रति सकारात्मक दृष्टि छैन् । जो आएपनि स्वार्थ केन्द्रित रहेको उनीहरुको गुनासो छ ।
युवा पंक्तिको कुरै बेग्लै छ । राजनीतिमा पुरानो पुस्ता नफेरिएकोमा गुनासो गर्ने यो वर्ग देशका सबै क्षेत्रमा युवा नेतृत्वको खाँचो देख्छ । मतदाताहरुलाई उनीहरु दलीय झण्डा भन्दा पनि एजेण्डामा केन्द्रित हुन सुझाव दिन्छन् । नातावाद, कृपावाद र झोले झण्डेहरुबाट देशको राजनीतिमाथि उठ्न नसकेको अनुभव संगालेका एक पक्ष हाम्रा हैन, राम्रा छान्नुपर्ने मत राख्छन् ।
मतदानको एक दिन विवेक नराख्दा बाँकी ३ सय ६५ दिन पछुताउने अवस्था आउनु भन्दा बेलैमा उचित निर्णय गर्नु बुद्धिमानी ठहर्छ ।