अधिकृतको जागिर छाडेर वडाध्यक्षमा उम्मेद्वार

इलाम : राजनीतिलाई फोहोरी खेल मान्ने थुप्रै छन् । सरकारी जागिरलाई लक्ष्य बनाउने पनि प्रसस्तै भेटिन्छन्् । तर, समाजमा थोरै मात्र भेटिन्छन््, जो सरकारी जागिर त्यागेर राजनीतिमा आउन चहान्छ । राजनीति फोहोरी खेल मान्नेहरुको आँखाले सरकारी जागिरमा जति सफा र चमक अरु केही मा भेटाउन सक्दैनन् । तर, इलामको सूर्योदयमा अनौठो भएको छ ।

इलामको लक्ष्मीपुर मूल घर भएका तीर्थराज आचार्य अधिकृतको जागिर छाडेर वडाध्यक्षका उम्मेद्वार भएका छन्् । तीर्थको जागिर मेची आयुर्वेद अञ्चल अस्पताल आइतबारेमा वरिष्ठ कविराज निरीक्षक अधिकृत (सातौँ) तहमा थियोे । घरबार चल्न चाहिने सम्पूर्ण थियो उनीसँग । तीर्थ अचानक, सरकारी जागिर छाडेर राजनीतिमा आए । उनी अधिकृतको जागिर छाडेर वडाध्यक्षका उम्मेदवार बनेका छन् । इलामको सूर्योदय नगरपालिका वडा नम्बर १३ बाट वडाध्यक्षमा उनको नाम आएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।

‘हरेक मानिस स्वभावले फरक पर्ने रहेछ, मसँग सबथोक थियो’, तीर्थ भन्छन्, ‘जोसँग केही थिएन, उसलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने सोचले म धेरै दिनदेखि निदाउन सकेको थिइनँ ।’ तीर्थको स्वभाव नै अजिबको थियो, सरकारी पेसामा हुँदा पनि मानिसको मद्दत गर्न अफिस बिदा लिएरै जाने गर्थे । सहकर्मी खगेन्द्र पौड्याल सुनाउँछन्, ‘तीर्थ सर सहयोगी भावनाको मान्छे हो, बरु अफिस नभ्याए बिदा लिनु हुन्थ्यो । तर, कसैलाई परेको दुःख उहाँलाई आफ्नै जस्तो लाग्थ्यो ।’

‘काटेको हातमा मलम धेरै लगाएँ । शरीरको बाहिरी चोटसँग धेरै खेलेँ’, तीर्थ सुनाउँछन्, ‘सम्झनुहोस् त ! बारीमा बाली लटरम्म फलेर पनि बेच्न नसक्ने किसानको पीडा, उनीहरूको मन कति पोलेको थियो ? मेरो पेसाले भएर पनि नभएका किसान दाजुभाइको मनको घाउमा मलहम लगाउन सकिनँ ।’ अन्ततः यस्तै छट्पटिले उनी राजनीतिमा आए ।

तीर्थसँग संसार नै बदल्ने भोक छैन । न राजनीतिका व्यावसायिक खेलाडीसँग जस्तो पुरा नहुने सपनाको पोको छ । तीर्थ न सम्पत्ति बाँड्न सक्छन्, न सपना । उनलाई सामान्य घरका कृषक, व्यवसायी को पीडामा साझेदार बन्नु छ ।

इलामको लक्ष्मीपुर कृषक धेरै भएको क्षेत्र हो । त्यहीँका वडाध्यक्षका उम्मेदवार हुन्, तीर्थ । स्थानीयवासीलाई आफ्नै उत्पादनले बाँच्न सक्ने मात्र बनाउन सके तीर्थलाई अरू धेरै केही चाहिएको छैन । लक्ष्मीपुर उत्पादनका हिसाबले उर्वर क्षेत्र हो । तर, कृषक आफ्नै उत्पादनले बाँच्न सक्ने अवस्थामा छैनन् । लक्ष्मीपुरकै उत्पादनले लक्ष्मीपुरबासीलाई पुग्ने अवस्था भएपछि स्वतः विकास हुन थाल्ने तीर्थको बुझाइ छ ।

‘सरकारी जागिरमा निश्चित दायरा थियो’, तीर्थ भन्छन्, ‘फैलने निश्चित ठाउँ मात्रै थियो ।’ तीर्थलाई सरकारी सेवाबाट गरेको सहयोगले सबै क्षेत्रमा सेवा दिन नसक्ने लागेपछि विकल्प खोजेका हुन। राज्यले तोकेको भन्दा बाहिर सरकारी जागिर जान नसक्ने तीर्थको ठम्याइ छ । फैलन उनलाई केही न केही चाहिएको थियो, वडाध्यक्ष पद तीर्थलाई उत्तम विकल्प लाग्यो ।

हुनैलाई तीर्थ स्वास्थ्य क्षेत्रसँग जोडिएका थिए । कोभिडको समयमा देशको सेवा गर्ने मौका स्वास्थ्य क्षेत्रले पायो । उनले पनि गरे । देशलाई संकट पर्दा स्वास्थ्यले ढाल बनेर छेकेको सम्झिए पनि उनले । ‘तर, मेरो मन यतिले सीमित भएन’, तीर्थले भने । माओवादी नेता गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री हुँदा तीर्थ उनको सचिवालयमा कार्यरत थिए । भन्छन्, ‘त्यतिबेला मैले नेपालको स्वास्थ्य अवस्था र देशको बारे धेरै कुरा सिक्ने मौका पाएको थिएँ ।’

तीर्थले समाज र संगठन नबुझेकै पनि होइन । आयूर्वेद स्वास्थ्यकर्मीको छाता संगठन नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजमा महासचिव,उपाध्यक्ष हुदै एक कार्यकाल केन्द्रिय अध्यक्ष समेत बने । अहिले सूर्योदय १३ मा नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षको उम्मेदवार छन् । माओवादी केन्द्रसँग नेकपा समाजवादीले तालमेल गरेको छ । सो क्षेत्रमा कांग्रेस र नेकपा एमाले एक्ला एक्लै चुनावी मैदानमा छन ।

भ्यूटावर, बाटो, बिजुली र पानी मुख्य ठान्दैनन् उनी । उनीसँग साधारण झै देखिने वास्तविक किसानका समस्याको समाधान गर्ने सपना छ,योजना छ । राजनीतिमा भएको पछिल्लो अभ्यासभन्दा फरक । सपनामा बाँच्न स्थानीयलाई उनले बाध्य पारेनन् । बरु, सजिलो बनाइदिने कुरा गरे । ‘उत्पादनले खान पुग्नु पर्यो बस’ तीर्थ सजिलै सुनाउँछन्, ‘यदि उत्पादनले खान पुग्दैन भने उत्पादन विनिमयले पुग्नुपर्छ । बेच्ने पनि ठाउँ छैन भने राज्यले व्यवस्था गरिदिनु पर्छ ।’ उनको विचारमा जनताले स्थानीय सरकार महसुस गर्ने ठाउँ नै त्यही हो ।

तीर्थ सजिलै विचलित हुने देखिँदैनन । उनीसँग जित्ने सपना छ, जितेर गर्ने धेरै काम छ । कथम कदाचित हारे भने पनि समाजसेवाबाट भाग्ने योजना छैन । उनी भन्छन्, ‘हात मुख जोर्न सानो मेडिकल चलाउँला, तर काम भनेको यही १३ नम्बरका जनताको सेवा गर्ने हो । नआउनु आएँ, अब त्यति सजिलै भाग्दिनँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार