काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते (३० वैशाख) देखाइदिने बताउनु भएको छ । हेटौंडामा एमालेले आयोजना गरेको कार्यक्रममा ओलीले आफूलाई कतिपयले हु ईज केपी ओली भन्ने गरेको भन्दै ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको नतिजाले देखाइदिने बताउनु भयो ।
‘यो मलाई भनेको होइन, समग्र एमालेलाई भनेको हो । त्यो त हामी ३० गते देखाइदिन्छौं । त्यसपछि थाहा हुनेछ, को हो केपी ओली भनेको,’ ओलीले भन्नुभयो। आफ्नो नेतृत्वको सरकार कोरोना महामारीको बेला पनि कर्मचारीको तलब भत्ता बढाउने हिम्मत राखेको ओलीको भनाइ छ ।
वृद्ध भत्ता बढाएर ज्येष्ठ नागरिकको पार्टी एमाले भएको उहाँको भनाइ छ । कोभिड दुनियाँमा फैलिएको बेला आफूले पहिलो परीक्षणका लागि हङकङ पठाइएको स्मरण गराउँदै अहिले देशभर जताततै परीक्षणको व्यवस्था मिलाएको बताउनु भयो ।
दुई अर्ब ५० करोडभन्दा बढी पैसा तिरेर पनि औषधि ल्याउन नसकेको वर्तमान सरकार भ्रष्टाचारको चंगुलमा फसेको बताए । अहिलेको सरकारमा रहेका मन्त्रीहरूलाई औलो समाएर हिँड्न सिकाएको ओलीको भनाइ छ । रेडियो टेलिभिजनमा गएर पाँच हजार तिरेर कोभिडविरुद्धको खोप लगाएको भन्दै गलत प्रचार प्रसार गर्दै हिँडेको उहाँले बताएउनु भयो।
वर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यमन्त्रीमा नियुक्त हुँदा पाँच हजार तिरेर कोरोनाविरुद्धको खोप लगाएको बताउनु भएको थियो । उक्त भनाइको खण्डन गर्दै ओलीले निःशुल्क लगाइएको खोपलाई पैसा तिरेर भनिएको बताउनु भयो ।