(लेखकः युद्धबहादुर बोहोरा)
अधिकांश पुरान र परिपक्क नेताले जनता सामु चुनावको बेला जे बाचा गर्थे पुर्याएर छोड्थे तर आजकाल भने राजनीति ढाँटको खेती बनेको छ । राजनीतिक दलहरुले निर्माण गरेका घोषणापत्रहरु कागजी खोस्टामा मात्रै परिणत हुन थालेपछि उनीहरुका झुटा एजेण्डा जनताले पत्याउन छाडेका छन् ।
बोलीको टुंगो नभएको र जनतालाई आफ्नो पक्षमा तान्न स्थानीय चुनावको मुखमा आकर्षक र उत्तेजित गीत तथा म्युजिकको साहरामा टोल-टोलमा नाचगान चलाउन थालेका छन् । रमाईलो नाचगानका कारण बच्चादेखि बृद्धसम्म पनि भोट माग्ने टोलीको लर्कोमा हिंड्दा माहोल तातिएको जस्तो देखिने गरेको छ । वास्तवमा नेतालाई जिताउन भन्दा पनि ठुलो आवाजमा बजेको संगीतबाट मनोरन्जन लिन लर्को बढ्ने गरेको छ ।
जनतालाई दिने आश्वसन र आफ्नो क्षेत्रलाई कसरी विकसित बनाउने भन्ने भावी योजनाहरुको कुरा त परै छाडौं,भोट माग्न टोल बस्तीमा गएर हल्का नाच्न जान्नेहरु पनि उम्मेद्वार हुने चाहना गर्दै मच्ची मच्ची नाचगान गरेकै भरमा जनप्रतिनिधि बन्ने होडबाजीमा उत्रिएका छन् ।
गीतसंगीतलाई संसारमा अत्यन्तै महत्पूर्ण र मनोरन्जनको साथीको रुपमा मानिएको छ तर यो भन्दा राजनिती फरक पाटो हो । तैपनि पछिल्लो समयमा संगीतलाई नेता र नेतृत्वले काँधमा बोक्न थालेका छन् । अहिले राजनीतिमा गीतसंगीत पनि फेसन बनेको छ । वास्तवमा चुनावी समयमा मात्रै कलाकारलाई सम्मान गर्ने र अन्य समयमा भने कला,साहित्य,संगीत तथा मिडिया समेत राजनीतिको आँखामा बादल लाग्ने गरेको छ । चुनावको मुखमा यतिबेला कलाकार र मिडियाकर्मी सबैलाई खाँचो पर्नुले नेता भित्र दर्विलो क्षमताको अभाव भएको महसुस गर्न सकिन्छ । यसको साथमा गाउघरमा एक दिन छिरेर बुढा पाकको गाला सुमसुम्याको र नमस्कार गरेको तस्वीर सामाजिक संजालमा हालेर धेरै समाजसेवी नेता भएको नक्कली प्रमाण पनि सार्वजानिक गर्न भ्याइनभ्याइ छ उनीहरुलाई ।
विगतका दिनहरुमा भोट माग्न जाँदा पार्टीको नीति,सिद्धान्त,बिचार र पार्टीले गर्ने दुरदर्शि काम बारे जनताका माझमा नेताले स्पष्ट विचार पुर्याउँथे तर आजभोली नेताको भाषणामा दम छैन । झुटो भाषणलाई जनताले पत्याउन छोडिसके त्यसैले विकल्पको रुपमा प्रतिस्पर्धाको संगीत सृजनामा निक्कै लगागी गर्न शुरु गरेका छन् । नेताले भाषण गर्दा के बोल्ले हो आफैंलाई थाहा हुँदैन । एक-अर्कालाई गालीगलौज गर्नु र जनतालाई ढाँटढुंट पार्ने कोशिस गर्नु अपरिपक्व राजनीतिको पराकाष्ठा हो ।
जनताबाट मत माग्दै गाउँघर घुमेर बोलेका कुरा पुरा गर्नुको सट्टामा आफ्नो जीविकोपार्जन गर्ने र मुख पड्काएकै भरमा लाखौं आम्दानी गरेका छन् । राजनीतिलाई विना लगानीको मुख्य पेशा बनाएकाले उनीहरुको चुनावी भाषण सुन्न जनता भेला हुन छाडेका छन् । मान्छे भेला नभए कार्यक्रम खल्लो बन्न थालेको बुझेपछि प्रतिस्पर्धामा राजनीतिक दलहरुले आफ्नो पार्टीको आकर्षक म्युजिक भिडियो र गीत बनाउन थालेका हुन् । टोलटोलमा कान छेड्ने गरि गीत बजाएर जनता आकर्षण गर्न खोज्नु भनेको दलहरु अब एजेण्डा विहिनको अवस्थामा पुगेको जनताले आँकलन गर्न थालेका छन् । त्यसैले विभिन्न दल र तिनका नेताले भोट माग्ने आधार सारहीन बनेको छ ।
जसरी सांगीतिक मनोरन्जनको माध्यमले जनताको मत लिएर चुनाव जित्छन्,त्यसरी नै सामाजिक पद धारण गरेपछि जनप्रतिनिधिले सरकारी बजेट र हरेक क्रियाकलापको दुरुपयो गर्दै मनोरन्जनमा नै कार्यकाल बिताउँने गरेको समेत आरोप खेपेका छन् । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं जनतालाई सेवा गर्ने प्रतिवद्दता कता हो कता परिवारवाद र अगुवा-पछुवालाई पालन पोषण गर्न अग्रसर देखिन्छन् ।
नेता अत्यन्तै स्वार्थी हुन्छन् भन्ने जानी जानी आफ्नो मताधिकार प्रयोग गर्न जनताले भोट दिनुपर्ने बाध्यता छ । स्थानीय स्तरका नेताहरु पनि पार्टीले तयार गरेको घोषणापत्र घोकेर भाषण मार्फत प्रस्तुत गर्छन् तर यस विषयमा उनीहरु नै अलमल्ल देखिन्छन् । जुन किसिमले परिपक्व भएर घोषणापत्र प्रस्तुत गर्न सक्दैनन् उनीहरुले पछि गर्ने गतिविधि पनि त्यस्तै हचुवामा हुने गरेको छ ।
यसरी जनताको विश्वास नपाई नेता बन्ने र संगीतले जनता लट्याएर भोट जित्ने प्रवृति हावी हुँदै जाने हो भने पछिल्ला दिनमा बौद्धिक स्तरका नेता र जनताको मर्म बुझेर काम गर्ने सच्चा देशभक्त नेताहरु ओझेलमा नपर्लान् भन्न सकिन्न ।