काठमाडौंमा इलामेली कांग्रेसको भेला: काठमाडौंमा रहेका मतदातालाई बेवास्ता नगर्न सुझाव

  नयाँ बुलन्द
2.3k Shares

काठमाडौं : बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मतदानका लागि संघीय राजधानी काठमाडौंबाट आफ्नो गृहजिल्ला फर्किनेहरुको संख्या बढेको छ । यसै सिलसिलामा इलाम जिल्लाका १० पालिका भित्र घर भइ काठमाडौंलाई कर्मथलो बनाएका मतदाताहरु गाउँ पुग्न थालेका छन् ।
विशेषगरी निर्बाचनका मुख्य प्रतिस्पर्धी दलहरुले आफ्नो दल निकटका मतदाताका लागि आफैं सवारी साधनको व्यवस्था गरेर जिल्ला पठाउन थालेका हुन् । नेपाली कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा विभिन्न समितिहरु नै गठन गरेर मतदाताहरु जिल्ला पठाउने तयारी थालेको छ ।
शनिबार बागबजारमा बृहत भेलाको आयोजना गरेर मतदाता जिल्ला पठाउने प्रक्रिया अघि बढाइएको कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिका सभापति समिप घिमिरेले जानकारी दिए । ‘पालिका केन्द्रीत सम्पर्क ब्यक्तिहरु तोकेका छौं । पालिका वा वडाबाट काठमाडौंमा रहेका मतदाताहरुको सूची मगाएका छौं । सूची आउने वित्तिकै जिल्ला प्रस्थान गर्ने मिति तय गर्छौं’, सभापति घिमिरेले भने ।
भेलामा बोल्ने अधिकांश बक्ताहरुले काठमाडौंबाट मतदाता जिल्ला लैजाने सवालमा कांग्रेस जिल्ला कार्य समिति, क्षेत्रीय समिति, नगर समिति र उम्मेदवारहरु विशेष जिम्मेवार रहनुपर्ने औंल्याए । ‘यस पटक गठबन्धन भएको भन्दैमा जिल्ला बाहिर रहेका मतदाताहरुलाई मतदान स्थलसम्म पुर्याउन बेवास्ता गरिए पार्टीलाई दिर्घकालिन असर पर्नेछ । यसमा उम्मेदवार र नगर, क्षेत्र, जिल्ला समितिहरुले जिम्मेवार बन्नैपर्छ’, महाधिवेशन प्रतिनिधि सन्तोष गुरुङले भने ।

‘जिल्लामा रहेकाहरुको मात्र होइन जिल्ला बाहिर रहेका मतदाताहरु मत अधिकारबाट बन्चित हुनु भनेको कांग्रेस गैरजिम्मेवार बन्नुहो । त्यसैले काठमाडौंमा रहेका मतदाताहरु जतिसक्दो धेरै संख्यामा आफ्नो मतदान केन्द्रसम्म पुर्याउने कोशिस जिल्लाले गर्नुपर्छ’, अर्का महाविधेशन प्रतिनिधि माधव चम्लागाइले भने ।

भेलामा बोल्ने बक्ताहरुले यस पटक पाँच दलीय गठबन्धनका कारण चुनाव जित्न सहज भएको भन्दै काठमाडौंमा रहेका मतदाताहरु लैजाने सवालमा उम्मेदवार र पार्टी पंक्तिले चासो नदिएकोप्रति दुःखेसो समेत गरे । ‘असहज हुँदा मतदाता खोज्ने, सहज हुँदा वेवास्ता गर्ने प्रयास गरिए पार्टीले गम्भीर परिणाम भोग्नुपर्छ,’ एक कार्यकर्ताले भने । महाधिवेशन प्रतिनिधि राजकुमार कार्कीले मतदाता जिल्ला पुर्याउन चाँडै काम थाल्न सुझाव दिए ।

यद्यपी, आफ्ना पार्टीका मतदाता जिल्लासम्म लैजानका लागि तयारी तिब्र बनाइएको र त्यसका लागि व्यवस्थापन साथै जिल्लासँग समन्वय भइरहेको सम्पर्क समितिका सचिब दिनेश अधिकारीले जानकारी दिए । भेलामा महाधिवेशन प्रतिनिधि, सम्पर्क समितिका पूर्व पदाधिकारीहरु, प्राध्यापक, विद्यार्थी, बरिष्ठ संगीतकर्मी तथा कलाकारहरु, पत्रकारहरु, व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार