नवौं राष्ट्रिय खेलकुद : खेलाडी छनोट नगरेकोमा खेलकुदमन्त्रीको असन्तुष्टि

पोखरा : नवौं राष्ट्रिय खेलकुद नजिकिँदै गए पनि प्रदेशहरूले खेलाडी छनोट सुरु नगरकोमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले असन्तुष्टि व्यक्त गरेका छन् । प्रतियोगिताको तयारीबारे पोखरामा बिहीबार आयोजित अन्तरक्रियामा उनले राष्ट्रिय खेलकुद निर्धारित मितिमै आयोजना हुने भएकाले छनोटलाई तीव्रता दिनुपर्ने बताए ।

‘हामीसँग समय छोटो छ । खेलाडी छनोटदेखि प्रतियोगिताको तयारी सुरु गर्नु छ,’ उनले भने, ‘मेरो पनि सातै प्रदेशहरूलाई यही प्रश्न हो । किन खेलाडी छनोट सुरु नगर्नु भएको ? भोलिबाटै प्रक्रिया सुरु गर्नुस् । सरकार आर्थिक, नैतिक र प्राविधिक रूपमा सहयोग गर्न तयार छ ।’

पोखरामा जेठ २२ देखि २८ सम्म हुने नवौं राष्ट्रिय खेलकुद तयारीबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अन्तरक्रिया गरेको हो । पोखराको सुस्ताएको पर्यटनलाई समेत नवौं राष्ट्रिय खेलकुदले माथि उठाउन सहयोग पुग्ने उनले बताए । उनले भने, ‘कोभिडपछि हुन लागेको राष्ट्रिय खेलकुदले पोखरा सुरक्षित छ भन्ने सन्देशसमेत विश्वमा प्रवाह हुनेछ ।’ गण्डकी प्रदेशमा ३९ वर्षपछि हुन लागेको राष्ट्रिय प्रतियोगिता सफल हुँदा आफ्नो ऐतिहासिक वर्चस्व बनाउन सफल हुने अन्य प्रदेशले समेत यहाँबाट सिक्ने अवसर प्राप्त गर्ने उनले बताए ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा भएसँगै देशैभर यसले तीव्रता पाएको बताए । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलसहित केही खेलहरू प्रदर्शनी खेलका रुपमा रहने उल्लेख गर्दै उनले भने, ‘यो महोत्सव हो । खेलकुद र खेलकर्मीका लागि अरु कुरा सहायक हुन् । हाम्रो सम्पूर्ण ध्यान नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउनेतर्फ नै हुनेछ ।’ पोखराबासीलाई आफ्नो घर-आँगनमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन र यसमा अपनत्व ग्रहण गर्नसमेत उनले आग्रह गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी छोटो र व्यवस्थापनमा चुनौती रहे पनि सकारात्मक सोचका साथ प्रतियोगिता सफल बनाउन सबैको दायित्व रहेको जनाए । उनले नवौं राष्ट्रिय खेलकुदको मिति घोषणा भएसँगै सबै उत्साहित भएको जनाउँदै प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक–एक खेल भएमा प्रतियोगिताले थप उचाई प्राप्त गर्ने बताए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश सहआयोजक प्रदेशको रुपमा रहेको उल्लेख गर्दै पोखराले पाएको यो अवसर महत्त्वपूर्ण हुने बताए । आयोजक प्रदेशको नाताले प्रतियोगिता सफल बनाउने दायित्व प्रदेश सरकारको रहेको बताउँदै उनले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्भवतः कर्णाली प्रदेशमा हुने तयारी भइरहेको समेत सुनाए । पोखरामा चार दशकपछि हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कोशेढुंगा सावित हुनेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले देश संघीय संरचना गइसके पनि खेलकुद भने जान नसकेको बताउँदै कर्मचारी अभावमा प्रदेश खेलकुद परिषद्ले भने जसरी गरी कार्य सम्पादन गर्न नसकेको जनाए । उनले भने, ‘अहिले पनि परिषद्अन्तर्गत गण्डकीमा ३६ कर्मचारी छन् । हामीले समायोजनको कुरा पटकपटक उठाएका छौं तर बिडम्बना अहिले पनि हामीले उठाएको कुरामा ध्यान पुग्न सकेको छैन ।’

-कान्तिपुरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार