पाँचथरः जिल्ला सदरमुकाम फिदिममा संचालन भएको सुचना तथा प्रसारण विभागको दुई दिने घुम्तिशिविरबाट ८२ जना पत्रकारले सेवा लिएका छन् ।
दुर्गम क्षेत्रबाट संचारकर्ममा सकृय मिडिया हाउस र पत्रकारहरुलाई सहज होस् भन्ने हेतुले नेपाल पत्रकार महासंघ पाँचथर शाखाको सहकार्यमा सुचना तथा प्रसारण विभागद्वारा शिविरको आयोजना गरिएको पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए ।
नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय अन्तर्गतको यस शिविरबाट प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन सञ्चारमाध्यम सम्बन्धीका कामहरु सम्पन्न गरिएको छ । वैशाख १४ र १५ गते महासंघको सभाहलमा संचालित शिविरबाट सेवा लिने अवसर पाएकोमा जिल्ला तथा जिल्ला बाहिरका संचारकर्मीले सहजता र सुलभ रुपमा काम सम्पन्न भएको महसुस गरेका छन् ।
विभागका निर्देशक भरत गौतम सहित सहभागी टिमको शिविरबाट पाँचथर र ताप्लेजुङका ४१ जना सकृय पत्रकारले नयाँ प्रेस पास लिएका छन् । प्रेस पास नवीकरण ३१ जनाले गरेका छन् भने २ जनाले अनुभव प्रमाणित र ३ जनाले प्रेस प्रतिनिधि प्रमाणपत्र प्रतिलिपी समेत लिएका छन् । यसैगरी ३ वटा अनलाईन दर्ता र २ वटा अनलाईन नविकरण पनि गरिएको महासंघका कोषाध्यक्ष सरोज शर्माले जानकारी दिए ।
महासंघले यसअघि मल्टिमिडिया रिपोर्टिङ तालिम,खोज पत्रकारिता सम्बन्धी तालिम,फोटो पत्रकारिता लगायतका विभिन्न तालिम समेत सम्पन्न गरिसकेको छ भने दुई आर्थिक वर्षलाई ‘पत्रकारको क्षमता विकासका लागि तालिम वर्ष’ घोषणा पनि गरेको छ ।