गठबन्धनमा बागीको विगविगी, नेताहरू भन्छन्– ‘जसरी पनि मिलाउँछौं’

  नयाँ बुलन्द
119 Shares

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएसँगै चुनावी माहोल थप तातेको छ । दलहरू उम्मेदवारसहित मतदाता रिझाउन घरदैलो अभियानमा जुटेका छन् ।

देशका विभिन्न पालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको तालमेल रहेको छ भने एमालेले पनि कतिपय स्थानमा तालमेल गरेको छ । तर, तालमेलप्रति असन्तुष्टि जनाउँदै आधिकारिक उम्मेदवारविरुद्ध बागी परेपछि दलहरूलाई बागी उम्मेदवारी व्यवस्थापनमा संकट देखिएको छ ।

नेकपा एमालेको तुलनामा सत्ता गठबन्धनविरुद्ध बढी बागी उम्मेदवारी परेको छ । पोखरा महानगरमा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध गठबन्धनकै घटक कांग्रेसका तीन जनाले बागी उम्मेदवारी दिएका छन् । भरतपुर महानगरमा पनि गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध कांग्रेसबाटै बागी खडा भएका छन् ।

यीबाहेक देशभरका अन्य स्थानीय तहमा पनि केन्द्रको निर्णय विपरीत ठूलो संख्यामा बागी उम्मेदवारी परेको छ । गठबन्धनका दलहरू मध्ये पनि गठबन्धनको नेतृत्तकर्ता दल नेपाली कांग्रेसबाट धेरै बागी उठेका छन् ।

हुन त चुनावी तालेमेलको विषयमा कांग्रेसभित्र सुरुदेखि नै विवाद थियो । तालमेलबारे पार्टीभित्रको विवादको छायाँ उम्मेदवारी मनोनयन दर्तामा परेको छ । केन्द्रको सहमति विपरीत बागी उम्मेदवारी परेपछि गठबन्धनमा आबद्ध दलका नेताहरूले बागी उम्मेदवारी फिर्ता गराउने पहल शुरु गरेका छन् ।

पाँच दलीय गठबन्धनले देशभर तालमेल गर्ने निर्णय गरे पनि महत्वपूर्ण स्थानमा समेत त्यसलाई कायम राख्न असफल भएको छ । केन्द्रबाटै तालमेल गर्ने निर्णय गरेका ६ वटा महानगर र ११ वटा उपमहानगरमा समेत अधिकांश ठाउँमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परेको छ ।

गठबन्धनको यो संकट महानगरमा मात्रै होइन, देशभरका अधिकांश पालिकामा समेत देखिएको छ । तालमेलमा गठबन्धन असफल भएको टिप्पणी भइरहँदा गठबन्धनको घटक माओवादी केन्द्रले भने स्थानीय तहको निर्वाचनमा तालमेल गर्न गठबन्धन सफल भएको दाबी गरेको छ ।

कतिपयमा स्थानीय तहमा गठबन्धनभित्र पनि गठबन्धन बन्न पुगेको छ । कतिपय स्थानमा केन्द्रको निर्णय विपरीत गठबन्धन बाहिरको दल एमालेसँगै तालमेल गरेर उम्मेदवारी दर्ता भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार