इलामको स्थानीयतह निर्वाचनमा साविककै उम्मेदवारको दबदबा

  नयाँ बुलन्द
1.3k Shares

इलाम : स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता आज आईतवार र भोलि सोमबारलाई राखिएको छ ।  यतिबेला इलामका राजनीतिक दलहरु आफ्ना उम्मेदवारको अन्तिम नाम टुङ्गो लगाउन जुटेपनि जिल्लाका ठूला दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारको नाम सर्वजनिक गरिसकेका छैनन् ।

नेकपा एमालेले जिल्लाका ८१ वटै वडाका वडाध्यक्ष सहितको नाम फाइलन भइसकेको बुझिएको छ । यसअघि सूर्योदय, देउमाई, रोङ र माङ्सेबुङ गाउँपालिकाका प्रमुख र उप–प्रमुखहरुको नाम सर्वसम्मत ढंगले एमालेले टुङ्ग्याएको थियो ।इलाम नगरमा सनिवार नरेन्द्र भट्टराईलाई उठाउने निर्णय भएको बुझीएको छ ।

आधिकारिक उम्मेद्वार सार्वजनिक नभएपनि काङ्ग्रेसमा पनि अधिकाँश पालिकाका उम्मेदवारका नाम बाहिर आउन थालेका छन् । गठबन्धन र प्रतिपक्षी एमालेबाट चर्चामा आएका अधिकाँश नाम यसअघि (२०७४ को स्थानीय तह निर्वाचन)कै उम्मेदवार हुन् । फरक यतिमात्रै हो, कसैले जितेका र कसैले हनरेका थिए ।

अहिले एमालेबाट उम्मेद्वार बनाइएका सन्दकपुर गाउँपालिकाका उदय बहादुर राई र शोभा पराजुली २०७४ मा एमालेबाटै विजयी प्रमुख र उपप्रमुख हुन् । फाकफोकथुम गापामा एमालेबाट उम्मेदवार प्रमुखमा दिपेन्द्र खनाल र उपप्रमुखमा कल्पना राई मध्ये खनालले यसअघि प्रमुखमै उठेर हारेका हुन् ।

माइजोगमाई गापामा एमालेले उठाएका प्रमुखमा कुशबहादुर थेवे र उपप्रमुखमा सावित्रा भट्टराईमध्ये भट्टराई एमालेबाटै २०७४ मा विजयी उपप्रमुख हुन् ।
एमालेले सूर्योदय नपाको प्रमुखमा काजीमान कागते र उप–प्रमुखमा २०७४ मा पनि एमालेबाटै उपप्रमुख जितेकी दुर्गादेवी भट्टराई उम्मेद्वार बनाउने भएको छ ।

त्यस्तै देउमाइ नपाको प्रमुखमा सूर्य पोख्रेल र उप–प्रमुखमा पविमाया राई तथा माङसेबुङ गापाको प्रमुखमा हेमन्त राई र उपप्रमुखमा सुनिता योङ्गहाङ्गको नाम एमालेबाट उम्मेदवारमा छ । उनीहरू चारै जना २०७४ मा पनि एमालेबाट तिनै पदमा उम्मेद्वार थिए भने हेमन्त बाहेक सबै विजयी भएका थिए ।

माई नपामा प्रमुखको चर्चामा रहेका मध्येका दिपक थेवे र उपप्रमुखको चर्चामा रहेकामध्ये बिष्णुमाया आचार्य पनि २०७४ मा एमालेबाटै विजयी प्रमुख उपप्रमुख हुन् ।

नेपाली काँङ्ग्रेसबाट चर्चामा रहेका उम्मेदवारहरु पनि धेरैजसो २०७४ मा उम्मेद्वार बनिसकेका छन् । माङ्सेबुङ गापामा अहिले प्रमुखको उम्मेदवार बन्दै गरेका डिकेन्द्र इदिङ्गो र रोङ गापामा प्रमुखको उम्मेदवार बन्दै गरेका सम्शेर राई २०७४ मा काङ्ग्रेसबाटै सोही पदमा विजयी भएका हुन् ।

गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका भागमा परेका दुई पालिकामा समेत समाजवादीले पुरानै अनुहारलाई उम्मेदवार बनाएको छ । सो पार्टीले सूर्योदय नपा र माईजोगमाई गापामा यसअघि एमालेबाट विजयी बनेका बर्तमान प्रमुखहरू क्रमशः रणबहादुर राई र जीतबहादुर राईलाई नै प्रमुखमा उठाउने तयारी गरेको हो ।

एमालेले यसपटक रोङको प्रमुखमा मेहेरमान तामाङ र उपप्रमुखमा विष्णुमाया भुजेललाई उम्मेद्वार बनाउने चर्चा छ । उता माई नगरपालिका प्रमुखमा दिपक थेवे र खम्बासिंह लिम्बू तथा उप–प्रमुखमा विष्णुमाया आचार्य र हिमा भण्डारी बीच पनि कस्ले टिकट पाउने भन्ने टुङ्गो हुन बाँकी छ ।चुलाचुली गापामा ओम नारायण खनाल र अनुप अधिकारीले प्रमुखमा दाबी छाडेका छैनन् भने उपप्रमुमा दिलु लावतीको नाम पक्का जस्तै भएको एमाले स्रोतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार