फाल्गुनन्द गाउँपालिकामा अध्यक्ष कुरुम्बाङ सहित १४ जना जनप्रतिनिधिले दिए राजीनामा

  युद्धबहादुर बोहोरा
2.7k Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिकामा पालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङ सहित १४ जना जनप्रतिनिधिले शनिबार राजीनामा दिएका छन् । राजीनामा दिनेमा १,२ र ४ नम्बर वडाका अध्यक्ष क्रमशः होम प्रसाद आङ्देम्बे,बहादुरसिं नेम्बाङ र मान बहादुर नेम्बाङ रहेका छन् । त्यस्तै, १ र २ नम्बर वडाका तीन/तीन जना सदस्य छन् भने ४ र ५ नम्बर वडाका एक/एक जना सदस्य र ७ नम्बर वडाका दुई जना सदस्य छन् ।

राजीनामासंगै उनीहरुले पालिकाबाट प्राप्त गरेको सवारी साधन समेत बुझाएका छन् । उनीहरुले लिंदै आएको सेवा समेत टुंगिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए । निर्वाचन आयोगबाट जारी सुचनाका आधारमा पुनःउम्मेद्वार बन्न इच्छुकले बहालवाला पदबाट राजीनामा दिएर मात्रै स्थानीयतहको निर्वाचनमा उम्मेद्वारको मनोनयन गर्न पाउने व्यवस्था गरेको छ । आचरसंहितालाई मध्यनजर गर्दे नियम पालना गर्न उनीहरुले मनोनयन शुरु हुने दिन भन्दा एक दिन अगाडि जनप्रतिनिधिको जिम्मेवारी त्याग गरेका छन् ।

यस पालिकामा स्थानीय संरचनाको पहिले निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष बनेका अमरकुमार नेम्बाङसंग नेकपा एमालेको तर्फबाट अध्यक्षमा प्रतिस्पर्धि कुरुम्बाङ सात सय ९६ मत अन्तरले पराजित भएका थिए ।

तत्कालीन गाउँपालिकाका अध्यक्ष नेम्बाङको निधनपछि २०७६ सालमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपा (हाल नेकपा एमाले) का वीरबहादुर कुरुम्बाङले नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेलाई आठ सय तीन मत अन्तरले हराउँदै विजयी भएका थिए ।

कुरूम्बाङ पुनःएमालेबाट यस गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्वारीको लागि पार्टीले टिकट दिने टुंगो भएपछि राजीनामा दिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार