नेतालाई चुनावको रन्को, मतदातालाई कामको चटारो

  नयाँ बुलन्द
42 Shares

 

इलाम : सदरमुकाम र पालिकाका केन्द्रहरुमा राजनीतिक दलहरुलाई उम्मेदवार छनोट गर्न सकस भैरहेको अवस्थामा इलामका ग्रामीण क्षेत्रका किसान मतदातालाई भने कामको चटारो छ । मुख्य राजनीतिक दल नेकपा एमाले,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तीनवटै पार्टीले  आआफ्नो उम्मेदवार छनोट गर्न सकेका छैनन् । कुनै पालिकामा एमालेले पालिका प्रमुखको उम्मेदवार छनोट गरेको छ भने अन्य दुई दलले छनोट गर्न नसकेको अवस्था छ ।

स्थानीय तहको चुनाव आउन अब २२ दिन मात्र बाँकी रहँदा इलाममा चुनावी सरगर्मी भने ह्वात्तै बढेको छ । राजनीतिक दल र नेताहरु गाउँगाउँमा पुगेर टोल भेला गर्दैछन् । तर,राजनीतिक दलका कार्यक्रमहरुमा मतदाता कम र नेता कार्यकर्ता नै बढी देखिन्छन् । गाउँमा कामको चटारो छ । गहुँ थन्क्याउने,मकै छर्ने, हिउँदे तरकारी लगाउने,बार—थाँक्रा हाल्ने,सिंचाइका लागि पानीको जोहो गर्ने काममा किसानहरु व्यस्त छन् ।

स्थानीय तहको निर्वाचनका लागि नेताहरू गाउँमा आउन थाले पनि यहाँका किसानहरुलाइृ कुनै पनि पार्टीका नेतालाई भेट्ने फुर्सद छैन । राजनीतिक दलका नेताहरू चुनावी प्रसारमा घरघर पुग्न थाले पनि किसानलाई भने उनीहरुलाई भेट्न र भलाकुसारी गर्न फुर्सद पनि छैन र मन पनि लाग्दैन ।

‘हाम्रा समस्या जस्ताका त्यस्तै छन्,सिंचाइ नभएर बाली मरेको छ, धारामा खानेपानी आउँदैन,चुनाव आउँछ,नेता आउँछन्,आश्वासन दिन्छन्,जान्छन्’ इलाम नगरपालिका ९ गोलाखर्कका राजेन्द्र चौहानले भने । इलाम नगरमा बजार केन्द्रित मात्र विकास भएकाे र कृषि क्षेत्रमा भने विगतको पाँच वर्षमा खासै उपलव्धी हुन नसकेको गुनासाे पाेखे ।

‘अहिले तीन तहको सरकार छ । स्थानीय सरकार हाम्रो आफ्नै सरकार हुनुपर्नेमा किसानहरुको लागि त्यस्तो महशुस हुन सकेको छैन’ चौहानले भने ‘समयमा मल बिऊ पाइँदैन,सिंचाइको व्यवस्था छैन,असिना पानी,बाढीपहिरो र अन्य प्राकृतिक प्रकोपबाट बालीनालीमा क्षति पुग्दा समयमा नै उचित क्षतिपूर्ति पाइँदैन,त्यसैले चुनाव आए पनि हामीलाई कुनै रौनकले छुँदैन ।’

इलाममा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानीय तहमा ८१ वटा वडा छन् । सदरमुकामको इलाम नगरपालिकाको केही वडावाहेक अन्य सवै पालिका र वडाहरु ग्रामीण क्षेत्र हुन् । यहाँका ९० प्रतिशत भन्दा बढी मतदाताहरु ग्रामीण क्षेत्र र कृषि पेशासंग आवद्ध छन्। तर,राजनीतिक दलका केही कार्यकर्ता र नेताहरुलाई बाहेक अन्य कृषकहरुलाई भने कामको व्यस्तताका कारण चुनावी रौनकले छुन सकेको छैन ।

किसानलाई चुनावप्रति वितृष्णा जाग्नुको कारण कामको व्यस्तता मात्रै नभएर कृषि र कृषकका हितका लागि विगतमा नेताहरुले दिएका आश्वासन पुरा गर्न नसक्नु पनि हाे । किसानलाई चुनावको भन्दा बढी चिन्ता बाली भित्र्याउने,मकै छर्ने,गोडमेल गर्ने र कतै कतै चैते धान रोप्नेको छ, । उनीहरुले आफूहरुका लागि काम भन्दा ठूलो चुनाव नहुने बताएका छन् । रोङ गाउपालिकाका कृषक घना भुजेल भन्छन् ,‘समय भयो भने भोट हाल्न जानुपर्ला तर,भाषण सुन्ने र उनीहरु(नेता)संग हिड्ने फुर्सद मलाई छैन ।’अधिकाँश मतदाताहरु गाउँमा छन्,गाउँमा कामको चटारो छ तर नेताहरु किसानका खेतवारीमा नै गएर आफ्ना कुराहरु सुनाउँनै ब्यस्त देखिन्छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार