इलाम : इलाममा आईतबार बाट ‘कन्स्ट्रक्सन होलिडे’ हुने भएको छ । पछिल्लो केही महिना यता निर्माण सामाग्रीकाे मूल्य अत्यधिक रूपमा बढेको भन्दै काम गर्न समस्या भएपछी ‘कन्स्ट्रक्सन होलिडे’ गर्न लागिएको निर्माण व्यवसायीले बताएका छन । रड, सिमेन्ट, इट्टा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्रीको अत्यधिक मूल्य वृद्धि हुँदा काम गर्ने उपयुक्त समयमा पनि काम गर्न नसकेको निर्माण व्यवसायी संघ इलामका अध्यक्ष सन्तोष कटुवालले बताए । पछिल्लो समय इन्धनको पनि मूल्य अत्यधिक बढेपछि अपेक्षित भन्दा धेरै लागत बढेको उनको भनाई छ ।
माग सम्बोधन गर्न समय पनि दियौ तर सम्बोधन भएन : अध्यक्ष कटुवाल
‘अप्रत्याशित मूल्यवृद्धिमा हामी निर्माणको काम अगाडि बढाउन सक्दैनौ’ कटुवाल भने ‘यसलाई सरकारले सम्बोधन गर्नुपर्छ भन्दै ज्ञापनपत्र समेत बुझाउदै माग सम्बोधन गर्न समय पनि दियौ तर सम्बोधन भएन अब अन्तिममा हाम्रो माग सम्बोधन नभएपछी आउदो आईतबार अर्थात बैशाक ११ बाट इलाम साखाले ‘कन्स्ट्रक्सन होलिडे’ गर्ने भएको छ । मूल्य सामान्य नहुन्जेल हामी काम गर्न सक्ने अवस्थामा छैनौ ।’ यस्तै अध्यक्ष कटुवालले ‘कन्स्ट्रक्सन होलिडे’को समयमा कुनै निर्माण ब्यबसायिलाई काम गर्न दबाद दिए आफुहरुलाई मान्य नहुने बताए ।
सार्वजनिक खरिद नियमावली २०६४ को एघारौँ संशोधन सच्चाउन र अप्रत्याशित मूल्यवृद्धि फिर्ता गर्न लगायतका माग राख्दै निर्माण व्यवसायी सङ्घ इलामले गएको चैत्र १७ गते प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।
सरकारलाई बुझाएको ज्ञापनपत्रमा पेट्रोलियम पदार्थ, फलामजन्य निर्माण सामग्री, सिमेन्ट, ग्यावियन तार र नदीजन्य, खानीजन्य सामग्रीको अप्रत्याशित रुपमा अत्यधिक मूल्यवृद्धि भएकोले यस्तो मूल्यवृद्धि समायोजनका लागि सार्वजनिक खरिद ऐनमा व्यवस्था गरेबमोजिम मूल्यवद्धि भएको अवस्थामा सबै आयोजनामा व्यवसायीले मूल्यवृद्धि पाउने गरी २०६५ सालमा जस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्राविधिक माग दर्शन जारी गर्नुपर्ने माग राखिएको थियो ।
साथै बिमासम्बन्धी निर्देशिका २०७८ मा उल्लेख भएको व्यवस्थाअनुसार बिमा कम्पनीहरूले विगतमा लिइरहेको प्रिमियम दरमा ४/५ गुणा बढी वृद्धि गर्ने र विगतमा दाबी भुक्तानी गरीरहेको ७० देखि ८० प्रतिशत दाबी रकम बीमकलाई भुक्तानी नै गर्नु नपर्ने गरी एक्सेस भ्यालु मा ८ देखि १० गुणा वृद्धि गर्ने प्रावधान राखी अति नै अव्यावहारिक तथा अवैज्ञानिक रूपले बिमा कम्पनीहरूलाई मात्र अत्यधिक फाइदा हुने र बिमितले बिमा गरेको कुनै अर्थ ने नहुने खालको उक्त निर्देशिका तत्काल खारेज गरिनुपर्ने माग रहेका छन ।
यता ‘कन्स्ट्रक्सन होलिडे’ हुँदा इलाम जिल्लामा सन्चालनमा रहेका बिभिन्न आयोजनामा असर पर्ने देखिएको छ । लामो समयसम्म कोरोनाका कारण रोकिएका बिकास निर्माणका काम बिस्तारै चलायमान हुँदै गएको बेलामा यसरी काम रोकिने हुँदा इलामका नागरिक समस्यामा पर्ने देखिएका छन त्यसैले पनि यस् तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको देखिन्छ ।