फाल्गुनन्दमा ७६०० शब्दको त्रैभाषिक शब्दकोष निर्माण

  युद्धबहादुर बोहोरा
791 Shares

पाँचथरः भाषा संस्कृतिको सम्मान र उत्थानमा अग्रसर रहेको फाल्गुनन्द गाउँपालिकाले सात हजार छ सय शब्दको त्रैभाषिक शब्दकोष निर्माण गरेको छ ।

शब्दकोषमा लिम्बु,नेपाली र अंग्रेजी भाषाका शब्दलाई समावेश गरिएको छ । तीन सय ५२ पेजको उक्त पुस्तकले मातृभाषाको पठनपाठन हुँदै आएका विद्यालयलाई अध्ययन गर्न सजिलो बनाउने उदेश्यले निर्माण गरिएको पालिकाले जनाएको छ । यस पुस्तकको सहायताबाट भाषिक शैक्षिक सुधार साथै ऐतिहासिक तथा मौलिकताको संरक्षण हुने अपेक्षा राखिएको छ ।

शब्दकोष निर्माण गर्न पालिकाको सहयोगमा साङसिङ गुम्बा शिवालय सत्यहाङ सिलौटीको संयोजन तथा व्यवस्थापनमा संकलक/सम्पादकद्वय भित्राङ्गी काईला र बिजयबोध लाओतीले तयार गरेका छन् । पुस्तक सम्पादनमा सहयोग गर्ने विज्ञ खड्गनारायण आङ्देम्बे,डिगधोज लाओती,राजेन्द्र कुमार जवेगु,हरिचन्द्र लाओती,मधुराज केरूङ,भवानी तावा,चन्द्रकला लाओती लगायतले मद्दत गरेका छन् ।

याक्थुङ भाषालाई स्रोतभाषा मानेर नेपाली र अंग्रेजी भाषालाई लक्ष्यभाषा मानी  शब्दकोष तयार  गरिएको संकलन कर्ताले जनाएका छन् । भाषासंगै लिपी सिक्नु पर्ने वा जान्नै पर्ने अनिवार्यतालाई जोड दिएको र यसको उपयोग गर्न जानेमा लिम्बु जातीमा बसोबास गर्ने अन्य सबै जातजातीले सहजै याक्थुङ भाषामा दोहोरो संवाद गर्न सक्ने अनुमान गरिएको सम्पादन पक्षको भनाइ छ  ।

बुधबार सम्पादक काईलाले पालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङ,उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्वे र प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्दै पुस्तकको बारेमा प्रकास पारेका थिए । दुई सय थान प्रकाशन गरिएको शब्दकोष सबै विद्यालय,सरकारी कार्यालय,संघसंस्था,बुद्धिजीवी,प्राज्ञिक व्यक्तित्वहरुलाई वितरण गरिने भएको छ । जिल्लामा रहेका विज्ञहरुको सहायतामा निर्माण गरिएको यस शब्दकोष समीक्षा पछि हस्तान्तरण गरिएको संकलक लाओतीले जानकारी दिए । पुस्तकमा केही कमी कम्जोरी,त्रुटि भएमा वा पाठक वर्गको सुझाव र सुधारात्मक विषयमा आत्मसाथ गरि आवश्यकताको आधारमा संशोधन गर्ने सम्पादक मण्डलले प्रतिवद्धता जनाएको छ ।

यस पालिका भित्रका ४० वटा विद्यालय मध्ये २४ वटामा मातृभाषको पठनपाठन भइरहेको छ । आर्थिक वर्ष २०७८/०७९ को गाउँसभाले पालिकामा लिम्बु भाषालाई सरकारी कामकाजको भाषामा प्रयोग गर्ने घोषण गरि कार्यान्वयनको चरणमा रहेको छ । पालिका भित्र चार वटा विद्यालयमा राई र तामाङ भाषाको पठनपाठन भइरहेको र अन्य जातजातीका भाषा,लिपीको पनि संरक्षण गर्ने लक्ष्य राखेको पालिकाले खसआर्यको लागि संस्कृत भाषा समेत पठनपाठन गराउने जनाएको छ ।

गैर लिम्बुलाई पनि अध्ययन गर्न सहज हुने गरि तयार गरिएको शब्दकोषका सम्पादकलाई पालिकाले धन्यवाद दिएको छ । पूर्वका जिल्ला मध्ये पाँचथरमा लिम्बु जातीको बसोबास धेरै रहेको छ । त्यस मध्ये फाल्गुनन्दमा करीब ६४ प्रतिशत लिम्बु जातीको बासोबास साथै याक्थुङ भाषा बोलिने गरिन्छ भने जम्मा १३ वटा भाषा पालिका भित्र प्रयोगमा छन् । पालिकाले सबै जातजातीको भाषा,संस्कृति र पहिचानलाई समानरुपले अगाडि बढाउन पहल गरेको पालिका अध्यक्ष कुरुम्वाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार