सर्लाही । आफूलाई मधेशका ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभयो ।
शनिबार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब आफूलाई कसैले मधेशको ठेकेदार नठान्न चेतावनी दिनुभएको छ ।
विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै ओलीले मधेशका नागरिकलाई मधेशको ठेकेदार ठान्नेहरूले नै शोषण गरेको दाबी गर्नुभयो ।
२०४६ सालको आन्दोलनपछि २०४७ साल वैशाखमा सर्लाही सदरमुकाम मलंगवा आएको स्मरण गर्दै उहाँले ३२ वर्षपछि आउने अवसर जुरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
मधेशको जनताको आर्थिक, सामाजिक तथा समग्र विकासको लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघिसारेको उहाँको दाबी थियो ।
एमाले सरकारले कुरा नभई काम गरेर देखाउने गरेको ओलीले बताउनुभयो । २२ वर्ष पहिला आफ्नो सरकारले ल्याएको हुलाकी सडकको अवधारणाले मधेशको विकासले काँचुली फेरेको ओलीको भनाइ छ ।
जनकपुरबाट ढल व्यवस्थापन सुरु गरेको बताउँदै मधेशका सबै ठाउँमा ढल र पानीको सुविधा पुर्याउने उहाँले बताउनुभयो ।
आफ्नै सरकारले सामाजिक सुरक्षा भत्ता वितरण सुरुगरेको उनको जिकिर छ । यसलाई एमालेको सरकारले बढाउँदै लैजाने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले मधेशका नेकपा एमालेप्रति जनताको आकर्षण बढेको बताउँदै यस पटक चुनावमा अत्यधिक बहुमतसहित विजयी हुने ठोकुवा गर्नुभयो ।
फरक प्रसङ्गमा बोल्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन विकास विरोधी भएको आरोप लगाउनुभएको छ ।