माङसेबुङ गाउँपालिका १ नम्बर वडाको सार्वजनिक सुनुवाई सम्पन्‍न

  नयाँ बुलन्द
147 Shares

माङसेबुङ : माङसेबुङ गाउँपालिका १ नम्बर वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार नाङरुङस्थित वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।

वडा कार्यालयको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।  कार्यक्रममा करिब ५० वडाबासीको उपस्थिती रहेको कार्यक्रममा ११ जना सेवाग्राहीले प्रत्यक्ष चासो र गुनासो राखेका थिए ।

कार्यक्रममा तुलसीप्रसाद भट्टराई, सुर्य सुब्बा, भूमिका खड्का, खड्ग विश्वकर्मा,  रमा आचार्य, निर्मला घिमिरे लुईटेल,  यामबहादुर मुखिया, प्रेमबहादुर पुलामी,  नरेन्द्र तामाङ,  भुपाल लिम्बू, रोचक लिम्बूलगायतले प्रश्न र सुझाव राखेका थिए । प्रश्नकर्ताको प्रश्नको जवाफ वडा अध्यक्ष भक्तराज लिम्बू र गाउँपालिकाका प्रतिनिधि असिस्टेन्ट सब इन्जिनियर युवराज दाहालले दिएका थिए । उनीहरुले आगामी दिनमा कार्यालयले आवश्यक सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सहजकर्ता राम योङहाङले ३० जनाको नागरिक प्रतिवेदन पत्र र ३० जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।

सेवाग्राहीहरुले सुधार गर्नुपर्ने विषयका रुपमा विकासमा समानुपातिक र समानताको नीति अवलम्बन गर्न, पक्षपातरहित रुपमा बजेट विनियोजना गर्न, वडा अध्यक्षले सेवाग्राहीसँग प्रत्यक्ष भेटघाटमा जोड दिन, ठूलाठूला काम गर्नुभन्दा जनताहरूलाई प्रत्यक्ष फाइदा पुग्ने सुशासन सम्बन्धी ध्यान दिन, सुशासन र पारदर्शीतामा विशेष ध्यान दिन, वडाले सेवाग्राहीबाट गुनासो लिने भन्दा सुझावहरू लिने र काम गर्ने गर्न, कार्यलयमा नियमित रुपमा कर्मचारी भेट्न पाउने व्यवस्था गर्न, प्राविधिक कर्मचारी नियमित रुपमा वडामा बस्न, जनप्रतिनिधि र कर्मचारीको नियमित जनसम्पर्क बढाउन, योजना सुरू हुनुभन्दा अगावै स्थानीय उपभोक्ताहरुमा जानकारी गराउनलगायतका सुझाव दिएका थिए ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो नेपालवाणी एफएम ९४.९ मेगाहर्जबाट भएको थियोे ।

जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरीत भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्न योगदान गर्ने वडा कार्यालयको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार