इलाम : बालबालिकाहरुको रचनात्मक ज्ञान र सीपलाई उजागर गर्ने उद्देश्यले विहीबार अन्तर विद्यालय चित्रकला र हस्तलेखन प्रतियोगिता इलाममा सम्पन्न भएको छ ।
प्रतियोगितामा चित्रकलातर्फ जुबिल्यान्ट इलाइट एकेडेमीका अस्विन लिम्बूले प्रथम, गोल्डेन फ्युचरका डेबिट खत्रीले दोस्रो र माउन्टमेचीका निर्मल गुरुङले तेस्रो स्थान हासिल गरेका छन् ।
हस्तलेखन प्रतियोगितातर्फ जुबिल्यान्ड इलाइट एकेडेमीकी झरना मगरले प्रथम, बरबोटे अंग्रेज़ी बोर्डिङकी जुनु प्रसाईंले दोस्रो र भगवती माविकी पुजा कार्कीले तेस्रो स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा दुवै विधाका प्रथम स्थान हासिल गर्नेले नगद सात/सात हजार, ट्रफी र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेले पाँच/पाँच हजार, ट्रफी र प्रमाणपत्र र तेस्रो स्थान हासिल गर्नेले तीन/तीन हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा नगरका २६ विद्यालयका बालबालिकाहरु सहभागी थिए ।
प्रतियोगिता नेपाल बाल संगठन जिल्ला समन्वय समिती इलाम र मानव अधिकार मन्च नेपाल इलामको संयुक्त आयोजनामा भएको थियो ।
नेपाल बाल संगठन इलामका कार्यवाहक अध्यक्ष भक्त थामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति इलाम नगरप्रमुख महेश बस्नेतले नियमावली नै बनाएर वडाको कार्यक्रमभित्र बालबालिकाका निम्ती बजेटको ब्यवस्था गर्न थालिएको बताए ।
कार्यक्रमका अध्यक्ष थामीले सबै बालबालिकालाई हौसला प्रदान गर्दै उनीहरुको क्षमतालाई बाहिर ल्याउनका निमित्त प्रतियोगिता आयोजना गरिएको बताए ।