फाल्गुनन्दका भलिबल खेलाडीलाई पालिकाद्वारा सम्मान

  युद्धबहादुर बोहोरा
609 Shares

पाँचथर: याङवरक गाउँपालिकाद्वारा आयोजित प्रथम पालिका स्तरीय अध्यक्ष कप पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने फाल्गुनन्दका खेलाडीलाई पालिकाले सम्मान गरेको छ ।

पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम राईको अध्यक्षतामा विहिवार एक कार्यक्रम गरि खेलाडीलाई बधाई तथा शुभकामना सहित सम्मान गरिएको हो ।

गत सोमबारदेखि याङ्वरकमा शुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको थियो । फाइनल खेलमा फालेलुङ गाउँपालिकालाई ३-२ सेटले पराजित गर्दै फाल्गुनन्द विजयी भएको छ । पाँचथरका आठ स्थानीयतह मध्ये मिक्लाजुङ र कुम्मायक गाउँपालिकाले साहभागिता जनाएको थिएनन्।

फाल्गुनन्दको टिमले १३ तोला चाँदी सहित एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद,ट्रफी,मेडल र प्रमाणपत्र पाएसंगै पालिकाका खेलाडीबाट खेलजगतमा पुर्याएको योगदान तथा उपलब्धिको कदर गर्दे सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए । प्रतियोगितामा उपविजेता फालेलुङ गाउँपालिकाले पाँच तोला चाँदी,६१ हजार एक सय ११ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यसअघि २०७८ सालको शुभ दिपावलीको अवसरमा त्रिवेणी युवा क्लव फाल्गुनन्द  ६ वसागुले आयोजना गरेको द्वितीया मेला भलिबल प्रतियोगिता अन्तर पालिका स्तरीय निमन्त्रणा-कपमा पनि यस टिमले ५५ हजार पाँच सय ५५ रुपैया नगद, ट्रफी,मेडल र प्रमाण-पत्र सहित प्रथम स्थान हात पारेको थियो । त्यस्तै,फालेलुङ च्यालेन्जकप चौथो संस्कारण २०७७ अन्तर पालिका स्तरीय भलिवल टुर्नामेन्टमामा समेत तेस्रो स्थान हासिल गरि १५ हजार नगद,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको टिम क्याप्टेन बसन्त आङ्देम्बेले जानकारी दिए ।

यसरी विभिन्न ठाँउमा उपाधि जित्न सफल पालिकाको टिम र खेलाडीहरुको मनोबल उच्च बनाउन आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष वीरबहादुर कुरुबाङ,विशेष अतिथि उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्वे तथा अधिकृत तुम्रोक,लेखा शाखा प्रमुख चन्द्र कुमार योङ्हाङ लगायतले उनीहरुलाई बधाई तथा शुभकानाका साथमा सम्मान गरेका थिए । आगामी दिनमा खेलकुद क्षेत्रमा पालिकाले थप लगानी गर्ने पनि प्रतिवद्ता व्यक्त गरेका छन् । पालिका कार्यालयमा गरिएको सम्मान कार्यक्रम पालिकाका योजना तथा प्रशासन शाखा प्रमुख निर्मल अधिकारीले संचालन गरेका थिए । खेलाडीले प्राप्त गरेका उक्त मेडलहरुलाई पालिकाको खेलकुद शाखामा राखिएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार