२६ गतेसम्म चुनावी तालमेलबारे रिपोर्ट बुझाउन गठबन्धनको निर्देशन

  नयाँ बुलन्द
35 Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिले चुनावी तालमेलबारे चैत २६ गतेसम्म निर्णयसहितको साझा प्रतिवेदन बुझाउन तल्लो तहका संयन्त्रलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले चैत २६ गतेसम्म चुनावी तालमेलबारे निर्णय दिन गठबन्धनका प्रदेश, जिल्ला र स्थानीय संयन्त्रलाई निर्देशन दिएको हो ।

यसअघि गत बिहीबार बसेको गठबन्धनको बैठकले स्थानीय तहहरूमा गठबन्धनको अवस्था, चुनावी तालमेलको आधार लगायतका विविध विषयमा अध्ययन गरी चैत २२ गतेसम्म साझा प्रतिवेदन बुझाउन प्रदेश, जिल्ला र स्थानीय तहमा संयुक्त संयन्त्र बनाउने निर्णय गरेको थियो ।

बैठकमा चुनावी तालमेल गरेर २२ गतेसम्म वस्तुस्थिति मुल्याङ्कन गर्न भनेअनुसार काम भए नभएको पनि समीक्षा भएको छ ।

समितिले कतिपय जिल्लामा तालमेलबारे छलफल भएको, कतिपय जिल्लामा छलफल नै सुरु नभएको र कतिपय जिल्लामा भने पालिका स्तरमा भागवण्डा नै भइसकेको जनाएको प्रारम्भिक प्रतिवेदन आएको जनाएको छ ।

यस्तै, समितिको पहिलो बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धनबाट उम्मेद्वार छनोटको साझा मापदण्ड बनाउने पनि निर्णय गरेको छ ।

उम्मेदवार चयनबारे पार्टीहरूको आ–आफ्नो विधि भए पनि साझा उम्मेदवार चयनका लागि न्यूनतम साझा मापदण्ड बनाउने निर्णय गरेको समितिले मापदण्डको टुङ्गो लगाएको छैन ।

तल्लो तहका संयन्त्रबाट प्रतिवेदन आएपछि उम्मेदवारको न्यूनतम् मापदण्ड तय गर्ने समितिको तयारी छ । समितिको अर्को बैठक चैत २७ गते बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार