इलाम : इलामको सन्दकपुर गाउँपालिका भित्रका सीमसार र पोखरीहरु संरक्षणको काम सुरु गरिएको छ । समुदायमा आधारित संरक्षणको अभियानबाट आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र समेत बन्ने देखिन्छ । सन्दकपुर गाँउपालिका वडा नम्बर ४ मा रहेको लालबास पोखरी अहिले हराभरा भएको छ । मानवीय अतिक्रमणका कारण पुरिएको पोखरी संरक्षण गरी पोखरीमा पानी भर्ने काम पनि भएको छ । लालिगुराँसको जंगलको बीचमा रहेको लालबास पोखरीको संरक्षण गरिएपछि अहिले पर्यटकीय आकर्षणको केन्द्र समेत भएको हो ।
उता सन्दकपुरकै जमुनामा सीमखेतको संरक्षण गरि निर्माण भएको ढापपोखरी अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । समूदायले धान उत्पादन हुने खेत मासेर जलभण्डारको रुपमा पोखरी निर्माण गरेपछि आन्तरिक पर्यटक पनि पुग्न थालेका हुन् ।
नेपाल भारत सीमा क्षेत्रका खुल्ला क्षेत्रमा वृक्षारोपण गर्ने गाउँपालिकाले निति लिएको छ । सीमसार संरक्षण जलचर र वन्यजन्तुको पानीको प्यास मेटाउने स्थलसँगै पर्यटकहरुको आकर्षणको केन्द्र भएको गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले बताउनुभयो ।
इलामका ६० प्रतिशत सीमसार र पोखरीहरु सन्दकपुरमा रहेका छन् । जल भण्डार वृद्धिसँगै पानीका मुहानहरूको संरक्षण गर्ने उदेश्यले सीमसार पोखरीहरू संरक्षणका काम हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनुभयो ।
लेकाली क्षेत्रमा छाडा पशुहरुका कारण अतिक्रमणको चपेटामा परेका पोखरीहरु संरक्षणका गर्ने गाउँपालिकाले निति लिएपछि समुदायमा आधारीत संरक्षणका कार्यक्रम हुँदै आएका छन् । लेकाली फुल र लालीगुराँसको जंगलकाबीचमा रहेका सीमसार संरक्षण भएसँगै पर्यटकहरुको आकर्षणस्थल समेत भएका छन्।