इलाम : १५ वर्ष मुनीका बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप दिइने भएको छ । आगामी चैत २६ देखि चैत ३० गते सम्म १५ महिना माथि र १५ वर्ष मुनिका सबै बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप दिइने भएको हो । सोमबार स्वास्थ्य कार्यालय इलाममा पत्रकार सम्मेलन गर्दै सो जानकारी गराइएको हो ।
इलाममा जिल्लामा ६४ हजार चार सय बालबालिकालाई खोप दिइने लक्ष लिइएको छ । बिद्यालयमा रहेका ४५ हजार आठ सय ५८ र बिद्यालय बाहिर रहेका १५ महिना देखी पाँच वर्ष मुनीका १८ हजार पाँच सय ४२ जना बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितले बताए । उनले जिल्लामा खोप लगाउनका लागि पाँच सय ७९ वटा खोपकेन्द्र रहेको समेत बताए । यसका लागि प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्य कर्मी सहित एक हजार एक सय ५८ जना स्वयमसेविका रहने समेत बताए ।
जिल्ला भरी एकैपटा सञ्चालन हुने खोप अभियानमा इलामका सबै विद्यालय र स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र राखिने स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य साक्यले बताए । त्यसका लागि जिल्लाका सबै स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ५६९ खोप केन्द्रबाट जिल्लाका लक्षित ६४ हजार एक जना बालबालिकालाई खोप दिइने जनाइएको छ । यसमा करिव ९५ प्रतिशत लक्ष पुरा हुने जनाइएको छ ।
अभियानका क्रममा १५ महिना देखि १५ वर्ष उमेर समुहलाई यो खोप दिएर पनि नियमित खोपमा समावेश गर्ने नेपाल सरकारको लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितले बताए । प्रति लाख एक सय टाइफाइटका बिरामी हुनु उच्च संक्रमण मानिन्छ । यता इलाममा मात्र प्रति लाख छ सय देखी सात सय टाइफाइटका बिरामीरहेकाले पनि इलामलाइ उच्च जोखिम भएको जिल्ला मानिएको छ । सबैलाई सचेत भएर खोपमा बालबालिकालाई सहभागी गराउन समेत स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।