माङसेबुङमा वडास्तरीय फूटबल

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित सामाटारमा वडास्तरीय फूटबल प्रतियोगिता मंगलबार सुरु भएको छ ।

वडा कार्यालयको आर्थिक सहयोगमा शेर्पा मल्टिट्रेनिङ सेन्टरको आयोजना र वडा खेलकुद समितिको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन खेलमा वडा नम्बर ३ ए विजयी भएको छ । वडा नम्बर ५ लाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै वडा नम्बर ३ अघिल्लो चरण प्रवेश गरेको हो ।

जितका लागि १२ औं मिनेटमा रोशन लिम्बूले गरेको गोल नै निर्णायक भएको थियो । म्यान अफ दी म्याच रोशन लिम्बू घोषित भए ।

दोस्रो खेलमा वडा नम्बर २ विजयी भयो । वडा नम्बर ६ लाई १-० ले पराजित गर्दै वडा नम्बर २ विजयी बन्यो । २६ औं मिनेटमा प्रकाश लिम्बूले गोल गरेका थिए । म्यान अफ दी म्याच विजेताका गोलकिपर निमेष लिम्बू घोषित भए ।

प्रतियोगिताका विजेताले २५ हजार र उपविजेताले १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने वडा खेलकुद विकास समितिका अध्यक्ष कृष्ण आङदेम्बेले जानकारी दिए ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल विहीबार हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार