चुनाव नजिकिदा इलाममा पार्टीमा ओहोरदोहोर

  नयाँ बुलन्द
2.4k Shares

इलाम : स्थानीय तहको चुनावको मिति नजिकिदै जाँदा इलाम जिल्लाका राजनीतिक दलहरु संगठन विस्तारमा जुटेका छन् । अघिल्लो निर्वाचन ताका जस्तै गरि यो पटक पनि दल फेरवदल गर्ने क्रम सुरु भएको देखिन्छ । देशभरीमा नै सवै भन्दा धेरै अन्य पार्टीवाट आफ्नोमा प्रवेश गराएको नेपाली काँग्रेसको दावी छ ।

नेपाली काँग्रेस इलाम जिल्ला पार्टी सभापति डम्वर खड्काका अनुसार पछिल्लो समय अन्य दलमा आएको वितिष्णा र काँग्रेसको नीति शिद्धान्तका कारण प्रवेश गर्नेको लहर चलेको हो । ‘टिकटको आकांक्षा या स्वार्थ भन्दा पनि पार्टीको कृयाशिलता र विचारकै कारण प्रवेश गर्ने क्रम बढेको हो,’ उनले भने, ‘समानुपातिक सभासदका उम्मेद्वारदेखि वडाध्यक्षका उम्मेदवार पूर्व गाविस अध्यक्षहरुसम्म काँग्रेसमा आएका छन् ।’ अहिले इलाममा अन्य पार्टीमा भन्दा काँग्रेसमा प्रवेश गर्नेकाे स‌ख्या बढि देखिन्छ ।

नेकपा एमालेमा आएको विभाजनपछि कार्यकर्ता आफ्नो पक्षमा पार्न मेहनत बढेको देखिन्छ । एमाले कार्यकर्ता रोक्ने क्रममा छ भने नेकपा एकिकृत समाजवादी जसरी पनि आफ्नो दलमा धेरै कार्यकर्ता भित्र्याउने प्रयाशमा देखिएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको जिल्ला भएकाले पनि एकिकृत समाजवादी संगठनको पहिचान स्थापना गर्ने ध्याउन्नमा छ ।

यसअघिको तीन तहकै निर्वाचनमा पहिलो पार्टी रहेको नेकपा एमाले विभाजनपछि संगठनमा क्षति कम पार्दै पुरानै विरासत कायम गर्ने दौडमा छ । इलाम २ वाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवास नेम्वाङसहित ४ प्रदेशसभा सदस्य मध्ये २ जना एमालेमा छन् । जिल्लाका दश स्थानीय तहमा एमालेले ७ वटा प्रमुख जितेका मध्ये एउटा नगरपालिका र एउटा गाउँपालिकाका प्रमुख एकिकृत समाजवादीमा गएका छन् । इलाम १ वाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खनालसहित १ जना प्रदेश सदस्य एकिकृत समाजवादीमा छन् । एक प्रदेशसभा सदस्य माओवादी केन्द्रका हुन् ।

पार्टी विभाजनको असर खेपेको एमालेले भने नेकपा माओवादी केन्द्रवाट डेढ दर्जन जिल्ला कमिटि सचिवालयसहित सदस्य सहित १ हजार ६ सय ७८ जना एमालेमा प्रवेश गरेको जनाएको छ । ‘वहालवाला वडाध्यक्ष, वडासदस्यसहितका पदाधिकारी माओवादीवाट आएका छन् भने नेपाली काँग्रेस, जनता समाजवादीलगायतवाट पनि प्रवेश गर्ने क्रम छ,’ एमाले जिल्ला कमिटि सचिव उमेश गुरुङले भने ।

यता माओवादी केन्द्रले केहिले स्वार्थकालागि पार्टी छाडे पनि एमालेको दावी अनुसारको संख्या नगएको वताएका छन् । ‘त्यो भन्दा धेरै हाम्रो संगठनमा प्रवेश गर्नेको लहर छ,’ माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश परियारले भने ।

यता एकिकृत समाजवादी पालिका तहका कमिटि निर्माण गरि वडा तहका कमिटि गठन गर्ने क्रममा छ । ‘मूख्यगरि एमालेवाट नै पार्टीमा आउनेक्रम बढ्दो छ,’ एकिकृत समाजवादीका कार्यालय सचिव मानवहादुर गुरुङले भने,’ ‘जिल्ला कमिटिको दोस्रो पूर्ण वैठक सम्पन्न भएर आगामी निर्वाचन लक्षित कार्यक्रमसमेत तयार भएका छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार