फलाँटे-खाम्बाङ्ग-घुर्बिसे पञ्चमी सडक स्तरोन्नति हुँदै

  युद्धबहादुर बोहोरा
2k Shares

 

 

इलाम: फाकफोकथुम गाउँपालिका वडा नम्बर २ को फलाँटेदेखि खाम्बाङ्ग हुँदै पाँचथरको सिमाना घुर्बिसे पञ्चमीसम्म जोड्ने सडकको स्तरोन्नति शुरु भएको छ ।

७० प्रतिशत प्रदेश सरकारको समपुरक बजेट र पालिकाबाट विनियोजित ३० प्रतिशत गरि जम्मा ३५ लाख ८४ हजार रुपैंया लागतमा करीब १० किलोमिटर बाटो स्तरोन्नति गर्न लागिएको पालिकाका असिस्टेन्ट सव-ईन्जिनियर किसान लिम्बुले जानकारी दिए ।  डिपिआरमा  फालाँटेलाई जिरो प्वाइन्ट मानिएको भएता पनि सडकको सबै भागको काम पुरा हुने भएकाले योजनाको अन्तिम विन्दु घुर्बिसे पञ्चमीबाट काम थालिएको उनको भनाइ छ ।

कच्ची नाली सहित सात मिटर फराकिलो ग्रामिण सडक बनाउन कार्की निर्माण सेवाले जेठ मसान्त भित्र सम्पन्न गर्ने गरि चैत ११ गते ठेक्का सम्झौतापछि कामको थालनी गरिएको ठेक्केदार कम्पनीका प्रतिनिधि रितेश थापाले बताए । सडकको निगरानी,अनुगमन र प्राविधिक सहयोग सहित सम्पूर्ण कार्य गाउँपालिकाको भौतिक पूर्वाधार विकाश शाखाले हेर्ने पालिका कार्यालयले जनाएको छ ।

उक्त सडकको  शुरुवात खण्ड इलाम नगरपालिकाको १ नम्बर वडास्थित रक्सेबाट प्रवेश हुन्छ । देउमाइ नगरपालिकाको चित्रे,मैदाने हुँदै फलाँटे सम्म जोडिएको छ । त्यसपछि फाकफोकथुमको फलाँटेबाट शुरु हुने सडक पुतलीखर्क,खाम्बाङ्ग,धर्मद्वार,मजुवा,तमाखे हुँदै पाँचथर-इलामको सीमावर्ती बजार घुर्बिसे पञ्चमीमा पुगेर टुङ्गिने सडक संजालले यस क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

विभिन्न ग्रामिण बस्तीहरुलाई समेट्ने यो सडक व्यवस्थित बनेपछि स्थानीय कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुहरुले उचित मुल्य पाउनुका साथै पर्यटन विकासको प्रवर्द्धन हुनेमा यहाँका नागरिक विश्वस्त छन् ।

मेची राजमार्ग वाहेक इलामबाट पाँचथर जान वैकल्पिक सडकको रुपमा घुर्बिसे पञ्चमी हुँदै  करीब ३३ किलोमिटर लम्बाई पार गरेपछि फिदिमसम्म पुग्न सकिन्छ । यो बाटो राँके-रवि सडकमा पनि जोडिएको  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार