इलाम : नेपाल विद्यार्थी संघले शिक्षा जस्तो स्वायत क्षेत्रमा नाङ्गो राजनितिक हस्तक्षेत्र स्विकार्य नहुने चेतावनी दिएको छ । नेविसंघ इलाम काठमाण्डौ सम्पर्क मञ्चले इलाम माइजाेगमाइ गाँउपालिकाकाे अमर कल्याण माविकी शिक्षक टिका गौतम भण्डारीले दिएको विवादास्पद मन्तव्यलाई लिएर छानविनको माग गरेको हो ।
नेवि संघ कार्यवाहक सभापति पुजन चाम्लिङ राई र सचिव अरन्तजंग निरौलाले विज्ञप्ती जारी गर्दै कुनै अमुक पार्टी र संगठनसंग जोडेर शिक्षा जस्तो गरिमामय क्षेत्रमा गरेको निकृष्ट राजनितिक गतिविधिले नेपालको शिक्षा क्षेत्रमा अधिनायकवादी राजनितिक हस्तक्षेप भएको बताएका छन् ।
गौतमले नेकपा एकिकृत समाजवादी निकट शिक्षक संगठन छाडेर नेकपा एमाले निकट शिक्षक संगठनमा प्रवेश कार्यक्रममा आफुलाई एमाले बाहेक अन्य दलका शिक्षकलाई नियुुक्त नगरेको बताएकी थिइन् । उनले कार्यक्रममा बोलेको भिडियो सामाजिक संजालमा आएपछि विवादमा परेकी थिइन् ।
भण्डारीले आफुले एमाले बाहेकका शिक्षक नियुक्त नगरेको र एक जना झुक्किएर नियुक्त भएका कांग्रेस निकट शिक्षकलाई समेत एमालेमा ल्याएको बताएकी थिइन् । अभिव्यक्तिको निष्पक्ष छानविन गरी शिक्षा क्षेत्रलाई स्वतन्त्र, सर्वशुलभ र स्वायत रहेको आभाष दिलाउन नेविसंघले माग गरेको छ । यता नेविसंघ आरआर क्याम्पस इकाइ सभापति एवम कांग्रेस महाधिवेशन प्रतिनिधि संजिव ढकालले भने उक्त बिषयको न्यायाेचित छानबिन नभए आफुहरु अदालत सम्म पुग्न पछि नहटने नयाँ बुलन्दलाई जानकारी दिए ।