इलाम : झापामा अलि बढी गर्मी महसुस हुने बित्तिकै चिसोको खोजीमा उक्लने गन्तव्य हो कन्याम। झापाबाट करिब २० किलोमिटर मात्र पर रहेको कन्याम उक्लनुको अर्को मज्जा हरियो चिया बगानको बीचबाट सिउँदोजस्तै गरेर गएको मेची राजमार्गसमेत हो। तर विशेष गरेर छिनछिनमा कुहिरोसँग लुकामारी खेल्ने कन्यामको घोडचढी र सांस्कृतिक पहिरनले धेरैलाई लोभ्याएको छ।
युवा पुस्तामात्र नभएर बालकदेखि ज्येष्ठ नागरिकसम्म विभिन्न समुदायका सांस्कृतिक पहिरनमा ठाँटिएर कन्याममा राखिएका घोडामा चढेर फोटो खिच्न भ्याइहाल्छन्। पर्यटकहरू परम्परागत पहिरन र घोडामा नचढे कन्याम आएको निरर्थक मान्ने गरेको घोडचढी व्यवसायी संघका अध्यक्ष प्रेम तामाङ बताउँछन्। उनी कि त घोडामा पर्यटक घुमाइरहेका भेटिन्छन् कि त घोडाको लादी सोहोर्दै गरेको।
‘हरियो कार्पेट’ जस्तो देखिने चिया बगानमा खिचेका फोटो सामाजिक सञ्जालमा अपलोड गरे लाइक र कमेन्ट थामिनसक्नु हुन्छ। विभिन्न जातजातिको पोशाकमा सजिएका भेटिन्छन्। ‘कल्चरल ड्रेस’ मा पर्यटक आकर्षित हुन थालेपछि यहाँका व्यवसायीले आफ्नो श्रमको मूल्यमात्र पाएका छैनन् राम्रो आम्दानी गर्न थालेका छन्। कोभिड संक्रमणपछि खुलेको कन्याममा अहिले आन्तरिक पर्यटकको थामीनसक्नु भीड हुने गर्छ।
दैनिकजसो कन्याममा आन्तरिक पर्यटकले भरिएको हुन्छ। सूर्योदय नगरपालिकाको कन्याममा रहेको चिया बगान सूर्योदयको दृश्यावलोकन, हाइकिङ गर्न र चियाबारे अध्ययन गर्नेको रोजाइ बन्दै गएको छ। प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको कन्याम पूर्वी नेपालको हनिमुन गन्तव्यका रूपमा समेत चर्चित हुँदै गएको छ।