पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकामा स्थानीय न्याय सेवामा राजनीतिक दल र नागरिक समाजको भूमिका विषयक एक दिने वडास्तरीय छलफल कार्यक्रम वडा नं. ५ बाट विहीबार सुरु भएको छ ।
गुणस्तरीय न्याय सेवा सुनिश्चितताको लागि स्थानीय सरकार सहयोग परियोजना अन्तर्गत कुम्मायक गाउँपालिका न्यायिक समिति र मानव अधिकार मञ्च नेपाल इलामको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रम सबै वडामा सञ्चालन हुने छ ।
गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समितिकी संयोजक सीता आचार्यको अध्यक्षता र गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमा वडाअध्यक्ष याम बहादुर बोहोरा, वडा नं. १ का वडाध्यक्ष तथा न्यायिक समिति सदस्यहरु देवेन्द्र लावती र तारा देवी आचार्य, उजुरी प्रशासक रुमा बोहोरा वडा सचिव केश चेम्जोङ्ग, वडा स्तरीय राजनीतिक दलका प्रमुख÷प्रतिनिधिहरु, मेलमिलाप कर्ताहरु, टोल विकास संस्था संयोजकहरु, नागरिक समाजका प्रतिनिधिहरु, महिला प्रतिनिधि, लगायत ३५ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मानव अधिकार मञ्च नेपाल इलामका कार्यक्रम संयोजक मनकुमार बराईली, फिल्ड अफिसर अर्पण मगर र लेखा अधिकृत रञ्जना सुब्बाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा स्थानीय तहले प्रवाह गर्ने न्याय सेवाको प्रभावकारीता, मेलमिलाप केन्द्रको संचालन प्रक्रिया, स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भएको न्याय सेवा प्रक्रिया, मेलमिलापका लागि वडा स्तरमा रहेको राजनीतिक दल र नागरिक समाजको भूमिका जस्ता विषयमा अन्तरक्रियात्मक छलफल भएको होे ।
यस्तै परियोजना अन्तरगत इलामको सन्दकपुर र रोङ गाउँपालिका एवम् पाँचथरको कुम्मायक गाउँपालिकालाई नमुना आधार बनाई प्रदेश १ भरीका पालिकामा न्याय सेवाको गुणस्तरीयता अभिवृद्धिमा सहयोग पुर्याउने र आम समुदायसम्म न्याय सेवामा पहुँचमा प्रभावकारीता ल्याउने कार्यक्रमको उद्देश्य रहेको कार्यक्रम संयोजक मनकुमार बराईलीले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले देशमा संघीयताको अभ्यासमै रहेतापनि हामी जनप्रतिनिधिहरुले यो कार्यकालमा न्याय सेवाका लागि धेरै कामहरु सम्पन्न गरिसकेको बताए । जसमा पालिकास्थित न्यायिक कार्यविधि ऐन र मेलमिलाप कार्यविधि जस्ता कानुनहरु निर्माण भएको जसले गर्दा स्थानीय स्तरमा न्याय सेवा प्रभावका लागि सहज भएको बताए ।
उद्घाटन कार्यक्रमको कार्यक्रमलाई समापन गर्दै गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक सीता आचार्यले स्थानीय तहको न्याय सेवा प्रवाह गर्ने क्रममा जिल्ला स्थित अन्य पालिकाजस्तै कुम्मायकले पनि कार्यसम्पादन गरिरहेको दावी गरिन् । यसको लागि मानव अधिकार मञ्च नेपालको महत्वपूर्ण सहयोग रहेकोमा धन्यवाद व्यक्त गरिन् । न्याय सेवामा गुणस्तरीय ल्याउनका लागि वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना, मेलमिलाप कर्ताहरु उत्पादन, मेलमिलाप केन्द्र संचालनका लागि आवश्यक भौतिक सामाग्रीहरुको व्यवस्थापन र संचालन गरि सकेको जानकारी लिइन् ।
ओपन सोसाइटी पोलिसी सेन्टर (ओएसपिसी) को सहयोगमा परियोजना संचालित छ ।